• ६ चैत २०८०, मङ्गलबार

विकासमा युवा उद्यमीको सहकार्य आवश्यक : प्रमुख दाहाल

blog

युवा उद्यमीको कार्यक्रममा मन्तव्य राख्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल । तस्विर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असार १ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशिलतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले उर्जावान युवा उद्यमीसँग सहकार्य गरेर जाने बताउनुभयो । 

मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उदाहरण दिनुभयो । ‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ दाहालले भन्नुभयो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधै सकारात्मक छ ।’

चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाइन्सचोकमा बहुउद्देश्यीय व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरु भइरहेका छन् । मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड इन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिकसम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चलाई समावेश गराइने बताउनुभयो ।

त्यस्तै, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नेगरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशीलताले मात्र देश विकास सम्भव रहेको बताउनुभयो । 

नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले युवा उद्यमीलाई विदेश जानबाट रोक्नेगरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारीले युवा उद्यमीलाई स्वदेशमै रहने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले उद्यमशिलता बाटै बेरोजगारी समस्या हल हुने भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।