• ६ चैत २०८०, मङ्गलबार

कैलालीमा ४१ डिग्री तापक्रम, विद्युत आपूर्ति बन्द

blog

जानकी गाउँपालिका ६ स्थित सुवर्णपुर ग्रामीण विद्युत सहकारीको कार्यालयमा धर्ना दिदै उपभोक्ताहरु । तस्वीर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर (कैलाली), असार १ गते । कैलालीको जानकी गाउँपालिका ३ र ६ मा सेवा दिँदैआएको सुवर्णपुर ग्रामीण विद्युत सहकारीको लाइन काटिँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । कैलालीको तापक्रम ४१ डिग्री पुगेका बेला यहाँका ५०८ घरपरिवारका स्थानीयले विद्युत सेवाविहीन अवस्थामा बस्नुपरेको छ । विद्युत महसुल रकम नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन नै काटिदिएको हो ।

विद्युत सेवा आवश्यक पर्ने कुखुरापालन, डेरी पसल, विद्यालय पनि प्रभावित हुन पुगेको स्थानीयको भनाइ छ । स्थानीय श्रीरानी चौधरीले भन्नुभयो, ‘बोरिङ चलाउन विद्युत छैन धानको बीऊ जल्दैछ, कुखुराका चल्ला जोगाउन समस्या भैरहेको छ, विद्युत बील तिरेका उपभोक्ताले समेत दुःख पाएका छौं ।’

विद्युत सहकारीका व्यवस्थापक विक्रम सुवेदीले विद्युत सहकारीका व्यक्तिहरुले बील भुक्तानी नगरेका कारण समयमै बिल तिर्न नसकेको र समय माग्दामाग्दै विद्युत प्राधिकरणले लाइन काटिदिएको बताउनुभयो । हिजैदेखि विद्युत आपूर्ति नभएपछि हैरान उपभोक्ताहरु सहकारी कार्यालयमा उपस्थित भएका थिए । सहकारीका पदाधिकारी उपस्थित नहुँदा रकम हिनामिना गरेको हुनसक्ने आशङ्का उहाँहरुको छ । 

नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुख माधव महतले विगत नौ महिनादेखि विद्युत महसुल बाँकी रहँदैआएको छ । ताकेता गरेपछि कागज गर्दै टार्दै आएकोमा २०७८ चैत १० गते अन्तिम पटक चेतावनी दिँदा पनि नतिरेपछि २०७९ जेठ ३१ गतेका दिन लाइन काटिएको जानकारी दिनुभयो । 

महतले प्राधिकरण माथिको आदेश पनि रहेकाले विद्युत महसुल नतिरेसम्म लाइन जोड्न नसकिने बताउनुभयो । विद्युत प्राधिकरणको लम्की शाखाका आय इञ्चार्ज कला धमलाले सुवर्णपुर ग्रामीण विद्युत सहकारीले दश लाख ५९ हजार ४७८ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जानकारी दिनुभयो ।

जानकी गाउँपालिका ६ का वडाध्यक्ष इन्द्र चौधरीले सहकारीको नेतृत्वको गैर जिम्मेवारीका कारण बिल भुक्तानी बाँकी रहेपनि यस्तो प्रचण्ड गर्मीमा विद्युत आपूर्ति बन्द गरेर अमानवीय कार्य गर्न नहुने बताउनुभयो । विद्युत अत्यावश्यक सेवा भएकाले बन्द गर्न पनि नमिल्ने उहाँको भनाइ छ ।