‘नेताहरू सहमतिमा पुग्ने आशा छ’

Subash Newang
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले पछिल्लो पटक ‘संविधानको पहिलो मस्यौदा बनाउने जिम्मेवारी मलाई दिनुस्’ भन्ने अभिव्यक्ति दिंदा राजनीतिक वृत्तमा एक किसिमको तरंग उत्पन्न भयो । माघ ८ आउन अब १५ दिनमात्र बाँकी छ । सो अवधिमा पूर्ण या आंशीक भएपनि संविधान आउँछ कि आउँदैन ? संविधान आउँछ भने सहमतिको आधारमा आउँछ कि प्रक्रियामा गएर ? नआए संविधानसभाको सोपछिको कोर्स के हुन्छ ? यावत् विषयमा केन्द्रित भएर गोरखापत्रका लक्की चौधरीले गर्नुभएको कुराकानी - 

 

 

तपाईंले दिएको सहमति गर्ने समयसीमा सकिएको छ ।  दलका नेताहरूले विवादित विषयवस्तुमा सहमति गर्न सक्नुभएन ।  अब संविधानसभा कसरी अघि बढ्छ ?

-वास्तवमा संविधानसभाको बैठक सोमबार सकिने अवस्था थियो ।  त्यसैले मैले सोमबारसम्म विषयवस्तुमा सहमति गर्नुस् भनेर दलका नेताहरूलाई समयसीमा दिएको थिएँ ।  तर, प्रतिवेदनमाथिको छलफल लम्बिएर बिहीबारसम्म जाने देखिएको छ ।  अब उहाँहरूले बिहीबारसम्म केही न केही सहमतिमा पुग्ने भन्नुभएको छ ।  बिहीबारको संविधानसभाको बैठक १ बजे बोलाइएको छ ।  सोअघि नै केही न केही निचोड निकालेर जानकारी गराउँछु भन्नुभएको छ ।  म नेताहरूप्रति आशावादी छु ।  

संविधानको पहिलो मस्यौदा बनाउने जिम्मेवारी मलाई देउ भन्नुभएको थियो, सो विषयमा निकै टिकाटिप्पणी भयो नि ?

-माघ ८ भित्र संविधान जारी गर्न दुईवटा प्रस्ताव अघि राखेको थिएँ ।  पहिलोमा विषयवस्तुमाथि सहमति गर्नुस् भनेको थिएँ ।  दुई घण्टामा सहमति गर्नसक्छौँ नेताहरूले भन्नुभएको थियो ।  यस्ता धेरै दुई घण्टाको समय बितिसक्यो ।  अब त सहमति गर्नुस् भनेको हुँ ।  अर्को, नियम निलम्बन र बाधाअड्काउ फुकाएर संविधानको पहिलो मस्यौदा बनाउने जिम्मेवारी मलाई दिए म जिम्मेवारी वहन गर्न तयार छु भनेको थिएँ ।  तर त्यो सहज बाटो होइन ।  त्यो मेरो चाहना र रहरको बाटो पनि हैन ।  तर माघ ८ मै संविधान जारी गर्न सहमति हुन नसके यसो गर्दा राम्रो होला भनेर विकल्प प्रस्तुत गरेको हुँ ।  दलहरूसँग अर्को विकल्प छ भने प्रस्तुत गर्नुस् पनि भनेको छु ।  

हिजोका दिनमा तपार्इंले अग्रसरता नदेखाउँदा संविधानसभा विघटन भयो भन्ने आरोप लाग्यो ।  त्यो आरोप फेरि नआओस् भनेर यो सक्रियता देखाउनुभएको हो ?

-म कसैको आरोपको खण्डन र टिप्पणी गर्दिनँ ।  सबैलाई म सुनिरहेको छु ।  माघ ८ गते संविधान जारी गर्न दलका नेताहरू सहमति गर्न सक्नुभएन भने मलाई जिम्मेवारी दिनुस् भनेको हुँ ।  यसको अन्यथा अर्थ लगाउनु हुँदैन ।  दलको सहमतिमा, संविधानसभाको सहमतिमा मलाई जिम्मेवारी दिनुस्, म सबैभन्दा तटस्थ छु भनेको हुँ ।  दलका नेताहरू आफै सक्नुभयो भने त सबैभन्दा बढी खुशी म नै हुन्छु ।

माघ ८ आउन १५ दिनमात्र बाँकी छ ।  जनताले बुझ्नेगरी भनिदिनुस् न माघ ८ मै संविधान आउँछ कि आउँदैन ?

-दलका नेताहरू विषयवस्तुमा सहमति गरे अझै संविधान माघ ८ मै सम्भव छ ।  मेरो एकदम प्रस्ट कुरा छ ।  तर दुईचार दिनभित्र सहमति गरिसक्नुपर्छ, अन्यथा प्रक्रियामा लैजाँदासमेत समय पुग्दैन ।  म त प्रक्रिया र कार्यतालिकासहित बोलिरहेको छु ।  नेताहरूले सहमति गर्न नसके त माघ ८ मै संविधान सम्भव छैन ।  मस्यौदा समितिले पनि छोटो बाटोबाट दिनरात एक गरेर मस्यौदा बनाउँछौँ भनिरहेको छ ।  संविधान पारित गर्ने प्रक्रिया छोट्याएर पनि सम्भव छ ।  तर दलका नेताहरू नियम निलम्बनका लागि तयार हुनुपर्छ ।  मस्यौदा गर्ने समय र संविधान पारित गर्ने समयबाहेक सबै समय कटौती गरेर मात्र सम्भव छ ।  

सहमति नभए दुईतिहाईको प्रक्रिया अगाडि बढाउनु हुन्छ ?

-म यहाँनिर कुरा बुझ्न सकिरहेको छैन ।  प्रक्रिया भनेको के हो ? प्रक्रिया भनेको नियमसङ्गत कुरा हो ।  अहिले पनि हामी प्रक्रियाअनुसार नै चलिरहेका छौँ ।  दलका नेताहरूबीच भोलि नै सहमति भयो भने पनि प्रक्रियामै जाने हो ।  संविधान नियम र स्थापित मान्यता नै प्रक्रिया हो ।  आजभोलि नै चाँडै विषयमा सहमति भयो भने पनि प्रक्रियामै जाने हो ।  प्रक्रियाबारे धेरै बहस र विवाद गर्नुको तुक छैन ।  

विवादित विषय फेरि सहमतिका लागि संवाद समितिमा जाने चर्चा छ, साँचो हो ?

-दुईवटा विषयमा छलफल भइरहेको छ ।  पहिलो, प्रतिवेदनमाथिको छलफललाई लम्ब्याएर दलहरूलाई सहमतिको थप समय दिने ।  अर्को, संविधानसभाको बैठक तोकेर संवाद समितिमा प्रतिवेदन पठाउने र सहमति र प्रश्नावली तयार गर्ने ।  दलका नेताहरूबीच यी दुवै विषयमा छलफल जारी छ ।  एकापक्षको प्रतिवेदन पुनः संवाद समितिमा गए फर्केर आउँदैन कि भन्ने चिन्ता छ ।  अर्कोपक्षलाई संविधानसभाबाटै टुङ्ग्याउँछन् कि भन्ने डर छ ।  यो नेताहरूबीचको निर्णयअनुसार नै अघि बढ्छ ।  यसको टुङ्गो सम्भवतः भोलि नै लाग्छ ।

नेताहरू सत्ताको विषयमा बढी अल्झेर सहमति हुन नसकेको चर्चा बाहिर बढी छ यहाँलाई के लागेको छ ?

-मसँग कुरा गर्दा सबै नेताहरूले माघ ८ मै संविधान जारी गर्छौं भन्नुहुन्छ ।  सहमति गर्ने क्षमता नेताहरूसँग छ ।  कसरी मुलुकलाई अघि बढाउने निर्णय गर्ने सम्पूर्ण अधिकार पनि नेताहरूसँगै छ ।  सत्ता र संविधानको विषय त फरक हो तर भित्र त्यो विषयमा पनि छलफल होला मलाई थाहा भएन ।  

प्रक्रियामा जाँदा मार्सल लगाउन सक्नेसम्मको कुरा बाहिर चर्चा छ, साँचो के हो ?

-यो कुरा म पहिलो पल्ट सुन्दैछु ।  यसबारे मलाई केही थाहा छैन ।  संविधान जारी गर्ने विषयमा कसैको फरक मत होला भन्ने मलाई लाग्दैन ।  स्थापित अभ्यासअनुसार नै अघि बढ्ने होला ।  यी अभ्यास पनि दलका नेताहरूले नै बनाएका हुन् ।  यसभन्दा फरक रूपले कोही दल जानुहोला भन्ने मलाई लाग्दैन ।  मार्सल लगाउने र प्रतिवादमा उत्रने कुरा मलाई दुवै थाहा छैन ।  

कालकुट विष पिउने प्रसङ्ग बैठकमा कसरी आयो ? प्रस्ट पारिदिनुस् न ।

-वास्तवमा, माघ ८ गते संविधान बन्नुपर्छ ।  त्यसका लागि नेताहरू विषयमा सहमति गर्नुपर्छ ।  सहमति नबने त्यतिबेला अप्ठेरो अवस्था आउनसक्छ ।  त्यसो भएमा म सबै अपजस लिन तयार छु भनेको हुँ ।  त्यही अर्थमा समुद्रमन्थनबाट निस्केको कालकुट हलाल विष पिउने प्रसङ्ग आएको हो ।  तपार्इंहरूले तटस्थ मानेर बनाएको अध्यक्ष हुँ ।  तपार्इंहरू विश्वास गरेर प्रयोग गर्न सक्नुहुन्छ भनेर मैले त्यो प्रसङ्ग कार्य व्यवस्था परामर्श समितिको बैठकमा उठाएको हुँ ।  

माघ ८ मा संविधान नआए अर्को असफलताको आरोप लाग्छ कि लाग्दैन ?

-यो विषय मैले भन्ने होइन ।  यो जनताले भन्ने कुरा हो ।  बाहिरबाट गरिने मूल्याङ्कन हो ।  मेरो तर्फबाट सबै ढङ्गले माघ ८ मै संविधान ल्याउन लागिपरेको छु ।  मैले दललाई जे जति आग्रह गर्नुपर्ने हो सबै ढङ्गले आग्रह गरिरहेको छु ।  बाँकी कुरा दलकै नेताहरूमा छ ।  

माघ ८ मै संविधान नआए के हुन्छ ?

-हुन त नेताहरूले आकाश खस्दैन भनिरहनुभएको छ ।  तर यो दुःखद् विषय हो ।  माघ ८ मै संविधान नआए मसँग दवाई छैन ।  अहिलेसम्म त आउनैपर्छ भन्ने हो ।  नआए परिस्थिति अर्कै हुन्छ ।  देश मुठभेडतिर जानसक्छ ।  त्यसो हुन नदिन मैले दलका नेताहरूलाई सचेत गराएको छु ।  

संविधानसभाको अध्यक्षको नाताले जनतालाई विशेष सन्देश छ भने ?

-एक वर्षभित्र संविधान बनाउने सङ्कल्प र प्रतिबद्धताअनुसार संविधानसभाको नियमावली र कार्यतालिका बनाएका हौँ ।  यो ठूलो नैतिक प्रश्न हो ।  संविधानले तोकेको म्यादको कुराभन्दा ठूलो यो नैतिक प्रश्न बलवान् हो ।  अहिलेको स्थितिमा यदि जनतालाई चित्त बुझ्ने ढङ्गले दलका नेताहरू काम गर्न सकेनन् भने देशको यो अप्ठेरो स्थितिलाई थेग्न सक्नुहुन्न कि भन्ने मलाई चिन्ता छ ।  यो चिन्ता र सरोकार नेताहरूलाई भनेको छु ।  त्यसैले सक्नुहुन्छ सहमति गरिदिनुस्, सक्नुहुन्न भने आवश्यक पर्दा मलाई जिम्मेवारी दिनुस् ।  नभए उचित विकल्प दिनुस् भनेको छु ।  तर मेरो प्राथमिकता पहिलो प्राथमिकता हो ।  जनताले सकारात्मक वातावरणका लागि आवश्यक दबाब कार्यक्रम गरिदिनुस् भन्ने म भन्न चाहन्छु ।  

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना