• ६ चैत २०८०, मङ्गलबार

मस्याङ्दी जलविद्युत केन्द्रको बाँधबाट १८ घर परिवार प्रभावित

blog

अमरराज नहर्की

तनहुँ, जेठ ३० गते। वर्षायामसँगै मस्याङ्दी जलविद्युत केन्द्रको बाँध पानीको सतह धेरै हुँदा १८ घर परिवार प्रभावित भएका छन्। बाँध नजिक रहेका आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ र २ को पृथ्वीराजमार्गसँग जोडिएका बासिन्दा प्रभावित भएका हुन्। वडा नम्बर १ को १४ घरलाई असर पारेको र वडा नम्बर २ को ४ घरपरिवारको जमिनलाई नोक्सान पुर्‍याइसकेको स्थानीय बासिन्दाले बताएका छन्।  स्थानीयले खतरायुक्त घर र जमिनको जग्गा अधिग्रहण गरी तुरुन्त उचित मुआब्जा दिनुपर्ने मागसमेत गरेका छन्। 

बाँधमा पानी धेरै हुँदा सार्वजानिक जग्गा डुबान हुँदै व्यक्तिको जग्गासमेत कटान गर्न थालेकोले प्रभावित बनेको मस्र्याड्दी जल उत्पन्न प्रकोप संघर्ष समितिका अध्यक्ष बिष्णु पराजुलीले बताउनुभयो। मानवीय क्षति हुने खतरा देखिएकोले जतिसक्दो चाँडो आयोजनाले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीयबासीले माग राखेको उहाँले बताउनुभयो। 

वडा नम्बर २ एक्लेमा १४ घर परिवार बाँधले गर्दा  जोखिम परिसकेको वडा नम्बर २ मा विभिन्न व्यक्तिको ३६ रोपनी  व्यक्तिगत जग्गा नदीले कटान गरेको अध्यक्ष पराजुलीले बताउनुभयो।  

पर्खाल लगाएर बस्ती सुरक्षित गर्न केन्द्र प्रमुख बद्री फुँयाललाई पटक पटक आग्रह गरे पनि केन्द्रले बेवास्ता गरेकाले प्रभावित भएका छौं’, अध्यक्ष पराजुलीले भन्नुभयो। ग्याबिन जाली भरे पनि त्यसले काम नदीबहाव धकेल्न नसक्दा क्षति  भएको सङ्घर्ष समितिको भनाइ छ। 

‘समयमै उचित व्यवस्थापन नगरिए ठूलो मानवीय क्षतिको जोखिम भएको प्रभावित बासिन्दा सुन्दरबहादुर बानियाँले बताउनुभयो। एक वर्ष अघि आएको बाढीले व्यक्तिको जग्गामा नोक्सान पु¥याएको बानियाँ बताउनुहुन्छ।  गत वर्षको असार १५ गते विद्युत आयोजनालाई संरक्षणको लागि जानकारी गराए पनि हालसम्म कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलन गर्नुपरेको समितिले जनाएको छ। प्रभावितको समस्या समाधान नभए बाँध खोल्न लगाएर विद्युत उत्पादन कार्य बन्द गर्ने, कर्मचारीलाई कार्यालयमा प्रवेश रोक, सडक आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ।  

स्थानीय तारा मगरले करिब डेढ करोडको लगानीमा जग्गा र घर निर्माण गरेर होटल व्यवसाय सञ्चालन गर्दै आए पनि घर भत्किन थालेपछि व्यवसाय गर्न नसक्दा बंैकको ऋणसमेत तिर्न समस्या परेको बताउनुभयो। समस्याबारे अवगत भएको र समाधानका लागि छलफल गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।  

करिब दश रोपनी जग्गामा बनेका घरबास र  व्यवसाय गर्दै आएको क्षेत्रमा ड्यामको विस्तार तीव्र गतिमा भएकोले त्यसक्षेत्रका बासिन्दा वर्षायामसम्म पनि बस्न नसक्ने देखिएको अध्यक्ष चुमानले बताउनुभयो । उच्च जोखिममा रहेको उक्त क्षेत्रको ऊर्जा मन्त्रालयले अनिवार्य अधिग्रहण र बाँकी अकला मन्दिरसम्मको करिब बीस रोपनी क्षेत्रलाई संरक्षणको हिसाबले योजना बनाउनुपर्ने  अध्यक्ष चुमान बताउनहुन्छ।

 ‘प्रभावित भएका क्षेत्रलाई उर्जा मन्त्रालयले जतिसक्दो चाँडो अधिग्रहण गरेर मुआव्जा दिलाएर सुरक्षित स्थानमा जाने वातावरण सिर्जना गर्नुपर्छ भनेर सक्रिय रुपमा लाग्दै आएका छौं’, अध्यक्ष चुमानले भन्नुभयो। बस्ती नै उच्च जोखिमा रहेकोले आयोजनाले जग्गा अधिग्रहण गरेर मुआब्जाको लागि प्रक्रिया अघि बढाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो।  

पृथ्वीराजमार्ग जोगिने गरी अधिग्रहण गरेर स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि सम्बन्धित निकायमा परिपत्र गर्न निर्देशन दिइएको सहायक प्रअिज गैरेले बताउनुभयो। 

मस्याङ्दी जलविद्युत केन्द्रको बाँधले गर्दा प्रभावित भएको क्षेत्र। तस्बिर : अमरराज नहर्की