• ६ चैत २०८०, मङ्गलबार

चितुवाको आक्रमणबाट तीन वर्षमा एघार बालबालिकाको मृत्यु

blog

तनहुँ, जेठ ३० गते । तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए ।

जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएका छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ ।

शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँको सक्रियतामा चितुवा नियन्त्रणको लागि खोर थापिएको हो ।

वनको खोरमा बाख्रासमेतको पासो राखिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणका लागि सहज हुने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा चितुवाको आङ्तकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयले पनि एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा सतर्कताका लागि चितुवा नियन्त्रणको पहल गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले बिहान बेलुकाको समयमा उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरिएको बताउनुभयो ।