• ६ चैत २०८०, मङ्गलबार

जिसस कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ ३० गते । जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन उम्मेदवार विजयी हुनुभएको छ । सोमबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पद्म कलेल विजयी हुनुभएको हो । 

उहाँले एक मत अन्तरले नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीलाई पराजित गरी जिल्ला समन्वय समिति प्रमुखको भूमिका प्राप्त गर्नुभयो । कलेलले १३ र चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का खगराज भुषाल विजयी हुनुभएको छ । उहाँले पनि एक मतान्तरमा जित हासिल गर्नुभयो । विजयी भुषालले १३ र पराजित हुनुभएका नेकपा (एमाले) का राजेन्द्रप्रसाद खनालले १२ मत प्राप्त गर्नुभयो । 

नागरिक उन्मुक्ति पार्टी र एमालेबीच पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि छुट्टै गठबन्धन भएको थियो । नागरिक उन्मुक्ति पार्टीको सात र एमालेको पाँच गरी यो गठबन्धनसँग १२ मत रहेको थियो । 

यसैगरी, नेपाली कांग्रेससँग आठ, माओवादी केन्द्रसँग चार र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एक गरी गठबनधनको पक्षमा १३ मत थियो । तर भ्रष्टाचारको मुद्दा लागेका मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भोट हाल्न नपाएपछि सत्तारुढ गठबन्धनसँग पनि १२ मतमात्रै थियो । स्वतन्त्रबाट चुनाव जित्नुभएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले निर्णायक भोट सत्तारुढ गठबन्धनको पक्षमा हालेपछि गठबन्धनको जित भएको हो ।