• १३ वैशाख २०८१, बिहिबार

सल्लेरीमै बायोमेट्रिक कर दर्ता सेवा पाएपछि व्यवसायी हर्षित

blog

बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा लिँदै सल्लेरीका व्यवसायीहरु । तस्विर –सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, जेठ ३० गते । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा पाएपछि सोलुखुम्बुका व्यवसायी हर्षित भएका छन् । लामो समयदेखि सल्लेरीमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी नीरकुमार श्रेष्ठले भन्नुभयो, ‘अर्को जिल्लामा गएर दर्ता गर्नुपर्दा समय र खर्च धेरै लाग्थ्यो, आफ्नै ठाउँमा यो सेवा पाउँदा हामीलाई धेरै राहत मिलेको छ । धेरै व्यवसायी मन भएर पनि ओखलढुङ्गा गएर दर्ता गर्न सकिरहेका थिएनन् तर सल्लेरीमा नै सेवा आउँदा सबैलाई सहज भयो ।’ 

प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरुलाई यस प्रणालीमा दर्ता गर्न सल्लेरीमै दुई दिने सेवा प्रदान गरिएको हो । शनिबार र आइतबार उद्योग वाणिज्य सङ्घ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा उद्योग वाणिज्य सङ्घ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरुको बायोमेट्रिक प्रणालीमा दर्ता गर्ने कार्यक्रम राखिएको थियो ।

अन्य समयमा यही कामको लागि ओखलढुङ्गामा रहेको कार्यालयमा पुग्नुपर्ने र भनेको समयमा काम नहँुदा समय पनि धेरै लाग्ने र आर्थिक भार पनि कम भएकाले यस अवसरलाई सबै व्यवसायीले उपयोग गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुका सदस्य भानुभक्त उपाध्यायले बताउनुभयो । 

यसअवसरमा सोलुखुम्बुका २६० करदाता यस प्रणालीमा दर्ता भएका छन् । कतिपय व्यवसायीले चाहेर पनि टाढा भएकाले दर्ता गर्न नसकिरहेको अवस्थामा दुईदिने शिविरमार्फत व्यवसायीलाई सहज सेवा दने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको करदाता सेवा कार्यालय ओखलढुङ्गाका निमित्त कार्यालय प्रमुख एस.पी.सिंले बताउनुभयो । पछिल्लो समय अनिवार्य बन्दै गएको यस प्रणालीमा दर्ता गर्न दुर्गम सोलुखुम्बुबाट विभिन्न समस्या भएकाले सेवा दिइएको उहाँको भनाइ छ ।

सोलुखुम्बुमा कर कार्यालय नहुँदा करसम्बन्धी सबै काम गर्न झन्झटिलो र खर्चिलो हुने गरेको व्यवसायीहरुको भनाइ छ ।