• ६ चैत २०८०, मङ्गलबार

रेल सञ्चालनपछि पर्यटक बढे

blog

तस्बिर : लक्ष्मी जनकपुरधाम घुम्न आएका भारतीय पर्यटक ।

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ २९ गते । रेल सेवा सञ्चालन भएसँगै जनकपुरधाममा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसानजस्तै बनेको धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा रेल सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढेको हो । यसबाट यस क्षेत्रको व्यापारसमेत बढेको छ । 

जानकी मन्दिर दर्शनका लागि आउने दर्शनार्थी पवित्र सरोवर गङ्गासागर र अन्य धार्मिक स्थलसम्म पुग्ने गरेका छन् । रेल सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ । यात्रुको खर्च र समय बचत भएका कारण भारतीय पर्यटकको आगमन बढेको हो । 

रेलमार्ग हुँदै भारतको मधुवानी जिल्लाका ३५ जनाको टोलीसहित जयनगरबाट जनकपुरधाम घुम्न आउनुभएका राजाराम यादव भन्नुभयो, “रेल सञ्चालन भएपछि सजिलो भएको छ । आरामदायी यात्रा हुन्छ, पैसा र समयको बचत हुन्छ । बिहान आएर बेलुका फर्किन पनि सकिन्छ ।”

यस्तै सोही दिन ८० जनाको समूहमा आएकी राधिका देवीले खुसी हुँदै भन्नुभयो, “बसमा आउँदा गाह्रो हुन्थ्यो, अहिले थोरै समय र पैसा पनि कम लाग्ने हुँदा रेलले सजिलो बनाएको छ ।”दैनिकजसो भारतीय तीर्थयात्री आइरहेका छन् । असार ९ गते ५०–६० जना भारतीय पर्यटकको टोली पनि जनकपुरधाम आउने रेलवे विभागका इन्जिनियर रवीन्द्र साहले जानकारी दिनुभयो । उक्त भारतीय समूह रामायण सर्किटसँग जोडिएका स्थल भ्रमणका लागि जनकपुरधाम आउन लाग्नुभएको उहाँले बताउनुभयो ।

अहिले दैनिक रूपमा करिब एक हजार पाँच सय यात्रु ओहोरदोहोर गर्ने गरेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । यात्रुको चाप बढेपछि दैनिक तीन पटकसम्म रेल सञ्चालन गर्ने गृहकार्यसमेत भइरहेको जानकारी दिनुभयो । 

अहिले साताको दुई दिन बुधबार र शनिबार यात्रुको चाप धेरै हुने भएकाले रेलको दुवै सेट सञ्चालनमा ल्याउने गरेको उहाँले बताउनुभयो । शनिबार नेपालमा बिदा हुन्छ र बुधबार भारतमा लाग्ने हाटबजारका कारण हप्ताको यी दुई दिन यात्रुको चाप बढ्ने हुँदा यी दुई दिन भने दुवै सेट रेल सञ्चालनमा ल्याएको महाप्रबन्धक झाले बताउनुभयो ।