• ६ चैत २०८०, मङ्गलबार

बुढीगण्डकी आयोजनाका ३४ सय प्रभावित परिवारलाई मुआब्जा वितरण

blog

गोरखा, जेठ २९ गते । बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावितहरुले घर गोठ, बोटबिरुवा र फलफूलको मुआब्जा रकम पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनःस्थापना इकाईका अनुसार हालसम्म चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ । 

दोस्राे पटक दुई हजार छ सय घर प्रभावितहरुको खातामा तीन अर्ब दुई करोड रुपियाँ पठाइएको आयोजनाका संयोजक डा. जगतकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘गोरखा र धादिङ दुबै जिल्लाका प्रभावितहरुको निवेदनका आधारमा हामीले दुई चरणमा रकम भुक्तानी गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘अब झण्डै एक हजार जनाको निवेदन बाँकी छ । एक÷डेढ हप्तामा उहाँहरुको खातामा पनि रकम जान्छ ।’ यस अघि पहिलो चरणमा आठ सय व्यक्तिको खातामा एक अर्ब ७० करोड रुपसयाँ पठाइएको उहाँले जानकारी दिनुभयो । 

हालसम्म अन्य व्यक्तिले आवेदन नदिएको कार्यालयले जनाएको छ । दिएकाहरु मध्ये पनि कतिपयलाई मुआब्जा दिन समस्या भएको छ । कतिपय प्रभावितको घर गोठ फलफूल र बोटबिरुवाको विवरण अन्य व्यक्तिको नाममा दर्ता भएकाले समस्या भएको उहाँले बताउनुभयो । ‘

अरुको जग्गा भाडामा लिएर घर बनाइ बसेका व्यक्तिलाई पनि मुआब्जा दिन समस्या भएको छ । त्यस्ता व्यक्तिको जग्गाधनीले रकम पाउने घर घरधनीले नपाउने अवस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो  । ‘लगत सङ्कलन गर्दैमा जग्गा मालिकको दर्ता छ, घर मालिकको छैन,’ डा.श्रेष्ठले भन्नुभयो,‘यस्तो अवस्थामा उहाँलाई कसरी मुआब्जा दिने भन्ने कठिन्याइँ सिर्जना भएको छ ।’ 

गोरखा र धादिङको सिमानामा पर्ने बुढीगण्डकी आयोजनाका सरकारले आर्थिक वर्ष २०७८-०७९ आर्थिक वर्षमा छ अर्ब ८० करोड विनियोजन गरेको थियो । उक्त रकम मुआब्जा वितरणमा खर्च भएको छ । गोरखा र धादिङका २४ हजार ५५५ घर सहित अन्य भौतिक संरचना, बोट बिरुवा र फलफुलको मुआब्जा वितरण गर्नुपर्ने आयोजना कार्यालयले सङ्कलन गरेको लगतमा उल्लेख छ ।  घर गोठ र बोट बिरुवाको मुआब्जा वितरणको लागि झण्डै १० अर्ब लाग्ने अनुमान कार्यालयले गरेको छ । सार्वजानिक जग्गा, गुठीको जग्गा, विद्यालय मठ मन्दिर लगायतको मुआब्जा वितरणमा पनि समस्या छ । सार्वजानिक जग्गा, गुठीको जग्गा, विद्यालय मठ मन्दिरलगायतको मुआब्जा वितरणमा पनि समस्या छ ।

आर्थिक वर्ष २०७९-०८० लागि आठ अर्ब बजेट विनियोजन भएको छ । उक्त रकमले बाँकी मुआब्जा वितरण र पुर्नबास तथा पुनःस्थापनाको लागि खर्च गर्ने योजना छ । जग्गाको अन्तिम चरणमा छ । हालसम्म ४८ हजार ९४९ रोपनी जग्गाको मुआब्जा वितरण गर्दा ३४ अर्ब छ करोड रकम वितरण भइसकेको छ ।  

मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगे पनि पुनर्बास र पुनःस्थापनाको टुंगो नलाग्दा प्रभावित भने अन्याेलमा छन् । पुनर्बास र पुनःस्थापनाका लागि तत्काल काम सुरु गर्नुपर्ने देखिन्छ ।

Author

नरेन्द्र ढकाल