• ६ चैत २०८०, मङ्गलबार

प्रशारण लाइनको तारमा एक पुरूष हिँडेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

blog

नवराज सुबेदी

नुवाकोट, जेठ २८ गते । जिल्लाको ककनी गाउँपालिकामा एक पुरुष विद्युत् प्रशारण लाइनको तारमा हिँडिरहेका छन् । 

स्थानीय जयबहादुर तामाङले शनिबार बिहान ९ बजे विद्युत् प्रशारण लाइनको टावरबाट तारमा हिँडिरहेको बताउनुभयो ।

विद्युतको तारमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक रहेको प्रहरीले जनाएको छ ।

विक दुई सय २० केभीको प्रशारण लाइनमा हिँडिरहनुभएको हाे । उहाँ परिवारसँग झगडा गरेर विजुलीको तारमा पुगेको स्थानीय बताउछन् ।

त्यस स्थानमा दुई प्रहरी र चार–पाँच जना स्थानीयले अहिले उहाँलाई कुरेर बसिरहनुभएको छ ।

विक जति अनुरोध गरे पनि झर्न मानेका छैनन् । स्थानीयले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताएका छन् ।

मानसिक सन्तुलन गुमाएका विक बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताउनुभयो । 

विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरिएको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा विक चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो ।