‘अकुपाई बानेश्वर’ अभियान शुरु



काठमाडौं, २२ पुस । पहिचानको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर जनजातिहरुले ‘अकुपाई बानेश्वर’ अभियान शुरु गरेका छन् । ‘पहिचानसहितको संघीयतासहितको सविधान जारी हुनुपर्ने’ माग राख्दै मंगलबारदेखि आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले अभियान शुरु गरेको हो ।
    सांकेतिक रुपमा संविधानसभा भवनलाई कब्जा गर्ने भन्दै शुरु भएको आन्दोलनमा विभिन्न जातीय सामाजिक सस्था, राजनीतिक दल निकट जातीय मोर्चा तथा क्षेत्रीय पार्टीहरुको सहभागिता रहेको छ । मंगलबार अभियानमा संलग्नहरुलाई संबोधन गर्दै आन्दोलनका संयोजक पद्यम रत्न तुलाधरले ‘मुक्तिको लागि यो महत्वपूर्ण अभियान’ भएको बताउनुभयो ।
    ‘‘बानेश्वर भनेको संविधानसभा भवन हो, संविधानसभा भवन भनेको संविधान हो,” देशमा रहेका सबै जाती तथा समुदायले समानतापूर्वक बाँच्न पाउनुपर्ने धारणा व्यक्त गर्दै तुलाधरले भन्नुभयो, ‘‘हामी पहिचान अस्वीकार गरिएको संविधान स्वीकार गर्दैनौँ । बरु लडिरहने छौँ ।” विगतमा राजा महाराजाले दिने संविधान अस्वीकार गर्दै जनता आफैँले बनाउने संविधानको लागि आन्दोलन भएको उदाहरण दिँदै उहाँले भन्नुभयो–राजा महाराजकै शैलीमा नेता महानेताहरुले बक्सिस दिएजस्तो गरी जारी गरिने संविधान हाम्रोलागि स्वीकार्य छैन ।
    अभियानन्ताहरुले ईतिहासदेखि आफ्नो थाकथलो, भाषा, संस्कृति लगायतका छुट्टै पहिचान बोकेका देशको ३७ प्रतिशत जनसंख्याको हिस्सा ओगट्ने आदिवासी जनजातिलाई राज्यले उपेक्षा गरिएको भन्दै राज्यको हरेक अंङ्ग, तह र तप्कामा आफुहरुलाई पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने गरेका छन् । त्यस्तै धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने लगायतका माग राखिएको छ
    अभियानमा सहभागी जनजाित अगुवाहरुले आफ्ना हकअधिकार सुनिश्चित गर्न आफुहरु अभियानमा लागेको बताए । आदिवासी जनजातिसंग विगतमा भएका सहमति र संम्झौताहरु राज्यपक्षबाट कार्यान्वयन नभएकोप्रति आक्रोश ब्यक्त गर्दै जनजातिहरुले प्राकृतिक श्रोत र साधनमाथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
    आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले सुरु गरेको अकुपाई बानेश्वरमा करिात राई, लिम्बु, याक्खा, तामाङलगायतका समुदायको सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो अकुपाई बानेश्वरमा पुस २४ गतेसम्म विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जनजातिहरुले प्रदर्शन गर्ने बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना