बिद्यार्थी छैनन् तर बिद्यालयहरु संचालनमा देखाइएका छन्

नेपालगन्ज, मंसिर ५ गते । बाँकेको कटकुईंया गाबिसस्थित दुईवटा विद्यालयमा विद्यार्थी नभएपनि बिद्यालय भने संचालनमा रहेको देखाईएको पाइएको छ ।

लामो समय देखि विद्यालयमा विद्यार्थी आउन छाडेको बताउँदै स्थानीयहरुले शिक्षकहरुको लापरवाहीले बालबालिकाहरु भारतीय विद्यालयमा भर्ना भएको गुनासो गरेका छन् । स्थानीय होली मौर्यले दिएको जानकारी अनुसार विद्यालयका शिक्षकहरुले लापरवाही गर्दै बिद्यालय नै आउन छाडेपछि पछिल्लो ३ वर्ष देखि आंशिक रुपमा मात्र विद्यार्थीहरु आउने गरेका छन् ।
भारतीय सिमावर्ती क्षेत्रहरुमा धमाधम निजी विद्यालय खुल्दै गएपछि स्थानीयहरु आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयबाट हटाएर अन्यत्र पठाउन लागेको बताइएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउनेहरु नै आउने नआउने निश्चित नरहेकोले बालबालिकालाई निजी विद्यालयमा पठाइएको स्थानीय रामसमुझ यादवले बताउनु भयो ।
त्यस्तै स्थानीय गाउँ महतिनियामा रहेको विद्यालयमा पनि जम्मा ३ जना विद्यार्थी फेला परेका छन् । स्थानीय गाउँ मुस्लिम समुदायको रहेकोले छात्रवृति लगायतको सेवा सुविधा लिनका लागि मात्र बिद्यार्थीको नाम लेखाएर शिक्षक नआउने गरेको श्रोत ब्यक्ति त्रिलोकी नाथ मौर्यले बताउनु भयो ।
‘सबै बालबालिकाहरु विद्यालय नगएर मदरसामा जान्छन्’, उहाले भन्नुभयो, नेराप्रावि महतिनिया विद्यालय केहि वर्ष यता निरर्थक रुपमा संचालनमा रहेको छ । त्यस्तै मटेहियास्थित दिपेन्द्र प्रावि समेत विद्यार्थीविहीन बनेको छ ।
बाढीका कारण गाउँ विस्थापित भएर बनमा बसेपछि विद्यालय विद्यार्थी विहिन बनेको प्रधानाध्यापक दुर्गा प्रसाद श्रीवास्तवले बताउनु भयो । उहाले विद्यालय पनि गाउँ भएकै स्थानमा सार्नका लागि प्रयास भइरहेको बताउनु भयो ।
केहि समय अघि राम्रो संचालनमा रहेको सो विद्यालय पछिल्लो २ वर्ष देखि बाढीका कारण प्रभावित हुँदै आएको छ । ‘गाउँ नहुँदा विद्यार्थी आउने कुरै भएन’, श्रीवास्तवले भन्ुभयो, विद्यालय विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा सार्ने तयारी गर्दैछौं ।’
सरकारले गाउँ गाउँमा स्थापना गरेको सरकारी विद्यालयमा बालबालिका नआएको, शिक्षक नआएको, आएपनि नपढाएको, आफ्नो सट्टा कम तलब दिएर अर्कै शिक्षक
राखेको, छात्रवृति हिनामिना गरेको, पुस्तक नदिएको जस्ता गुनासोहरु सार्वजनिक भइरहँदा विद्यालय नै जोखिममा रहेको यो विषय बाहिर आएको छ ।
सरकारले यसअघि विद्यालय मर्ज गर्ने अभियान थालेपनि कृतिम विद्यार्थी विवरणका कारण विद्यालय गाभिन नपाएको श्रोतको भनाइ छ । सो बारेमा जिल्ला शिक्षा कार्यालयमा जानकारी माग्दा निमित्त जिल्ला शिक्षा अधिकारी राम सुरेश यादवले सो बारेमा एक टोली पठाएर अनुसन्धान गरिने जनाउदै बिद्यार्थी नभएरै बिद्यालय संचालनमा रहेको देखाईएको पाईएमा कारवाही गरिने बताउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना