• ६ चैत २०८०, मङ्गलबार

सेनेटरी प्याड बनाउन छात्राहरुलाई तालिम

blog

मुरारी अधिकारी

धादिङ, जेठ २५ गते । धादिङको नीलकण्ठ नगरपालिका ९ मा रहेको पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय र १४ मा रहेको सरस्वती माध्यमिक विद्यालयका किशोरीहरु आफ्ना लागि आवश्यक हुने सेनेटरी प्याड आफै बनाउन थालेका छन् । नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड बनाउने तालिम दिइए पछि आवश्यक प्याड बनाउन थालेका हुन् । 

महिनावारीको समयमा किशोरीहरुमा विद्यालय आउन समेत नसक्ने अवस्था रहने हुनाले उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आफैले बनाएको प्याड प्रयोग गर्नसके स्वास्थ्यका लागि पनि राम्रो हुने उद्देश्यले तालिम दिइएको प्रशिक्षक शान्ति तामाङले बताउनुभयो । किशोरीहरुलाई धोएर पुनः प्रयोग गर्न सक्ने कपडा प्रयोग गरेर बनाउन सिकाइएको तामाङले जानकारी दिनुभयो । 

त्यस्तै, किशोरीहरुले महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु, स्वस्थ तरिकाले प्याड प्रयोग गर्ने विधिबारे समेत तालिममा सिकाइएको उहाँले बताउनुभयो । सरस्वती माविमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३६ जना र पाल्पा सामरी भन्ज्याङ माविका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३१ जना किशोरीहरुलाई तालिममा स्वास्थ्य सरसफाइ, किशोरी अवस्थामा हुने परिवर्तन र स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा तालिम दिइएको छ । 

नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु रिजाल, कोसोक नेपालका शान्ति तामाङ, राजेन्द्र श्रेष्ठ लगायतले तालिममा सहजीकरण गर्नभएको थियो ।