• ६ चैत २०८०, मङ्गलबार

सञ्चार सम्पर्कमा जोडियो तिङ्कर

blog

लोकेन्द्र जोशी

दार्चुला, जेठ २५ गते । व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो । 

नेपाल टेलिकमको एनटी सेट प्रविधिको माध्यमबाट दुईवटा लाईन फोन सेवा जोडिएको छ । ९९४९३००५० र ९९४९३००५१ नम्बरमा फोन गरेर तिङ्करमा सम्पर्क गर्न सकिने गरी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिनुभयो । नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङ आफैले तिङ्कर पुगेर चीन नजिकको गाउँमा टेलिकमको एसटी सेवा सुचारु गर्नुभएको हो । 

चीनसँग जोड्ने सीमाक्षेत्र र भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नजिकको वस्तीमा फोन सेवा नहुँदा स्थानीयबासी सास्ती खेपिरहेका थिए । फोन लाईन जडान भएपछि खुसी लागेको व्यास गाउँपालिका –१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । 

व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले पालिकाको वडा १ को छाङरु र तिङ्करमै पुगेर जेठ ३१ गते कार्यपालिका वैठक बसाल्ने तयारी भइरहेको बताउनुभयो । छाङरु र तिङ्करमा पुग्न जनप्रतिनिधिहरुले समेत भारतीय अनुमति लिएर भारतकै बाटो हुँदै जानुपर्ने बाध्यतामा छन् ।