• ६ चैत २०८०, मङ्गलबार

पर्यटकको गन्तव्यस्थल बन्न सक्ने सायल झरना

blog

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ २५ गते । समुद्रको पिँधमा भेटिने हिराजस्तै यहाँको सायल झरनाको महत्व बढ्दैगएको छ । भौगोलिक विकटता तर प्रकृतिको अनुपन सौन्दर्य भएको एउटा क्षेत्रको रुपमा परिचित छ यो झरना ।

नेपालका अधिकांश प्राकृतिक सौन्दर्य भएका स्थलहरु भौगोलिक विकटता भएका क्षेत्रमा नै अवस्थित छन् । भागेश्वर गाउँपालिका–१ सायल गाउँको उपल्लो भेगमा रहेको सायल झरनाले प्रकृतिको सौन्दर्यतालाई झल्काइरहेको छ । डडेल्धुरा सदरमुकाम बागबजारदेखि करिब ६० किलोमिटरको दूरीमा झरना अवस्थित छ ।

बागबजारदेखि भागेश्वर –२ को रुपालसम्म करिब ४३ किलोमिटर र त्यहाँबाट करिब १७ किलोमिटरको दूरीमा सायल झरना अवस्थित छ । रुपाल क्षेत्रलाई स्वर्गीय राजा महेन्द्र शाहले कान्छी नेपालको उपमा दिनुभएको यहाँको स्थानीयको भनाई छ । 

ग्रामीण कच्ची सडक भएकाले झरनासम्मको यात्रा केही कठिन छ । सवारी साधनमा करिब तीन घण्टाको यात्रा गर्दा सायल गाउँ नजिकको लिउड गाउँसम्म पुगिन्छ । लिउडबाट छिटो पैदल हिडेमा ३० मिनेट र विस्तारै यात्रा गर्दा करिब १ घण्टा हिड्नु पर्ने स्थानीयले बताउँछन् । प्रकृतिप्रेमीहरुका लागि मनोरम गन्तव्यका रुपमा सायल झरना रहेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा करिब ४२ लाख रुपियाँको लागतमा भागेश्वर गाउँपालिकाले झरना क्षेत्रमा बाटो र दृष्यावलोकनका लागि भौतिक संरचना निर्माण गरेको थियो । झरनाको विस्तृत परियोजना निर्माण गरी भौतिक संरचनाहरु निर्माणमा तीन करोड रुपियाँ लागत बरावरको टेण्डर प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष मेहराज चटौतले बताउनुभयो । सायल झरनासम्म पुग्ने पूर्वाधार निर्माण गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक उपार्जन गर्न सकिने स्थानीय बुद्धिजिवीहरुको भनाई छ ।