अर्को महिना व्यवस्थापन हस्तान्तरण हुन्छ

नेपाल बैंक लिमिटेडका

व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठ

नेपालको पहिलो बैंक नेपाल बैंक स्थापनाको ७४औं वर्षमा प्रवेश गरेको छ । वित्तीय अवस्था नाजुक भएपछि १२ वर्ष पहिलो नेपाल राष्ट्र बैंकले यसको व्यवस्थापन नियन्त्रणमा लिई सुधार कार्यक्रम अगाडि बढाएअनुसार अहिले नेपाल बैंकको वित्तीय स्वास्थ्य निकै स्वस्थ भइसकेको छ । अर्को महिना प्रवद्र्धकहरुलाई नै व्यवस्थान हस्तान्तरणको तयारी गरिएको यस बैंकका व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठ अब बैंकले व्यवसायिक ढंगले अगाडि बढने आधार तयार भएको बताउनुहुन्छ । २०४६ मा राष्ट्र बैंक प्रवेश गर्नुभएका चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठ विगत चार वर्षदेखि नेपाल बैंकको व्यवस्थापन समूहको संयोजक हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग गोरखापत्रका लागि सिताराम विलासीले गर्नुभएको कुराकानीको सारः
·    गत वर्ष नै नेपाल बैंकको व्यवस्थापन हस्तान्तरण गर्ने कुरा थियो । अझै हुन सकेन नि ?
राष्ट्र बैंकले व्यवस्थापन लिएको करिब १२ वर्ष भयो । यसको समस्यालाई न्यूनतम स्थितिमा पु¥याएपछि हस्तान्तरण गर्ने नीति हो । सोही क्रममा पुँजी कोष पु¥याउने तिर नै हामी केन्द्रित छौं । यो बाहेक अन्य सुधारका कार्यक्रम पनि हामीले सँगसँगै अघि लगेका छौं । हुन त गएको आर्थिक वर्षको अन्त्यसम्म हस्तान्तरण गर्ने कुरा भएको हो । केही काम नसकिएकोले त्यति बेला हुन सकेन । अहिले पछिल्लो समयमा राष्ट्र बैंकले थप गरेको समय अब एक महिना मात्रै बाँकी छ । संभवतः मङ्सिरको अन्त्यसम्म हस्तान्तरण गरिसक्छौं ।
·    अब फेरि म्याद थप हुँदैन त ?
अवश्य थपिँदैन । किनभने पुँजी कोष बढाउने क्रममा ऋणात्मक नेटवर्थ अहिले धनात्मकमा आएको छ । पछिल्लो तथ्याङकअनुसार पाँच दशमलव २८ प्रतिशत धनात्मक पुँजीकोष पुगेको छ । हुन त राष्ट्र बैंकले तोकेअनुसार १० प्रतिशत हुनुपर्ने हो । त्यो तिर सुधार उन्मुख छ । हाम्रो चुक्ता पुँजी पनि करिव छ अर्ब ४७ करोड रुपियाँ पुगिसकेको हुनाले यसलाई हस्तान्तरण गर्ने तयारी गरेका हौं ।
·    हस्तान्तरणका लागि सबै पूर्वाधार तयार छ त ?
नेपाल बैंकको प्रमुख प्रवद्र्धक भनेकै सरकार हो । सरकारको ६२.३ प्रतिशतबाहेक अन्य सेयर कारोबार भइरहेको छ । व्यवस्थापन हस्तान्तरण गर्नका लागि विशेष साधारणसभा गछौं अर्को महिना । अब सात जनाको सञ्चालक समिति हुनेछ । त्यसमा चारजना सरकारको तर्फबाट, दुई जना निजी क्षेत्र र एक जना विज्ञ हुनेछन् । यसका लागि प्रवद्र्धकहरु तयार छन् । बैंकको नियमित कुरा विद्यमान संरचनाबाट अगाडि बढिहाल्छ ।
·    बाह्र वर्ष पहिला राष्ट्र बैंंकले लिँदा र अहिलेको तुलनात्मक अवस्था के छ ?
धेरै अन्तर छ । त्यति बेला ऋणात्मक नेटवर्थ साढे १२ अर्ब थियो । जबकि त्यो बेला चुक्ता पुँजी भनेको ३८ करोड रुपियाँ मात्रै हो । ६० प्रतिशतको हाराहारीमा खराब कर्जा थियो । अहिले तीन अर्ब ४० करोडको धनात्मक नेटवर्थ भइसकेको छ । खराब कर्जाको अनुपात चार दशमलव ७८ प्रतिशत छ । हामी निरन्तर नाफामा छौं । शाखा सञ्जाल पनि वृद्धि हुँदै १२० पुगेको छ । ग्राहकलाई पनि स्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएका छौं । ४२ अर्ब १४ करोड लगानी गइसकेको छ । ७१ अर्बको हाराहारीमा निक्षेप पुगेको छ । २० अर्ब रुपियाँभन्दा बढीको लगानी छ । चालु वर्षको पहिलो चौमासिकमा नै २७ करोड मुनाफा भएको छ । तर पनि जुन गतिले प्रगति हुनुपर्ने हो त्यो हुन सकेको छैन । तर हामीले इमानदारीसाथ प्रयास गरिरहेका छौं ।
·    सरकारी बैंकमा कर्मचारी सञ्चालन खर्च बढी देखिन्छ । कम गर्न पहल भएको छ ?
सत्य कुरा हो । सञ्चालन खर्चका विभिन्न कारक हुन्छन । त्यसमा मुख्य खर्च भनेको कर्मचारी नै हो । पहिलो बैंक भएकोले जुन परिस्थितिमा यसले सेवा गर्दै आयो, त्यसमा अहिले परिवर्तन आएको छ । यो बैंकलाई आजको स्थितिमा पु¥याउन यही जनशक्तिको भूमिका छ । बीचमा केही सुशासनको कमजोरीले वित्तीय अवस्था नराम्रो भयो । तर लामो सेवा दिएकालाई सम्मानजनक बहिर्गमनको अवसर दिनु संस्थाको दायित्व पनि हो । सोही अनुसार हामीले अवकाशको व्यवस्था गरेका छौं । कर्मचारी खर्च अब धेरै समय रहँदैन । यो हुँदाहुँदै पनि हामीले राम्रो आम्दानी गर्दैछौं । निजी बैंकले जसरी कर्मचारी खर्चलाई व्यवस्थापन गर्न सक्ने हो भने यो बैंक धेरै माथि पुग्छ ।
·    युनियनबाट सुविधा बढाउन माग गर्ने, अवरोध गर्ने समस्या कत्तिको छ ?
यस्ता संस्थामा चेक एन्ड ब्यालेन्सका लागि युनियन हुनुपर्छ । व्यवस्थापन र युनियनले गर्ने कामको एउटै उद्देश्य हो संस्था राम्रो चलोस् भन्ने । संस्थाले राम्रो कमाए राम्रो आर्थिक प्याकेज पाइन्छ भन्ने सबैको चाहना हुन्छ । नेपाल बैंकको सन्दर्भमा विगत पाँच वर्षमा युनियनबाट समस्या आएको छैन । व्यवस्थापनले  पारदर्शीता अपनाएकाले युनियनसँग नीतिगत, संस्थाको विकास, सुविधाका कुरामा सहकार्य र पारस्परिक सम्वन्ध भएको छ । सकेको सुविधा हामीले दिएका पनि छौं ।
·    तपाईं आएपछिका महत्वपूर्ण काम के छन् ?
म भनेको टिम वर्क हो । यसमा राष्ट्र बैंक, अर्थ मन्त्रालय, बैंक सञ्चालक समिति, व्यवस्थापन समूह सबै हो । हामीले बनाएको सुधार योजनामा उहाँहरुले सहयोग गरेकोले नै बैंकको वित्तीय सुधारमा सहयोग पुगेको हो । म आउँदासम्म पनि पुँजी कोष ११ प्रतिशतले ऋणात्मक थियो । गत वर्ष एक अर्ब २३ करोड रुपियाँ नाफा कमायौं । १२० वटै शाखा कम्प्युटराइज भएको छ । अहिले चलेको दुईवटा सफ्टवेयरको स्तरोन्नती गरी अन्तर्राष्ट्रिय मापदण्डको बनाउन अन्तर्राष्ट्रिय बोलपत्र भइरहेको छ । नयाँ जोश जाँगर भएका कर्मचारी भर्ना गरेर सेवालाई अझ सुधारको काममा लागेका छौं ।
·    निजी बैंक जस्तै प्रभावकारी बन्न नसक्नुका कारण के हुन् ?
बैंकको प्रभावकारिता आजको भोलि नै सुधार आउने कुरा होइन । पहिलो कुरा हामी कुन धरातल अर्थात स्थितिमा यो बैंक चलाउँदै आयौं, त्यो पनि हेर्नुपर्छ । तत्कालीन समयमा यो बैंक पूर्ण थियो । तर प्रविधिमा आएको सुधारसँगै अगाडि बढनु पर्नेमा त्यो कुरालाई बीचको सुशासनको समस्याले रोक्यो । यसले बैंंकलाई नोक्सान भयो । बैंकलाई दीर्घकालीन रुपमा सोचेर चलाउनुपर्छ, संयमित रुपमा काम गर्नुपर्ने हुन्छ, प्रतिस्पर्धा पनि गर्नुपर्छ । बिगत १२ वर्षमा आक्रामकरुपमा अगाडि बढनेभन्दा पनि भएका उपलब्धीलाई सुरक्षित अबतरण गर्न ध्यान दियो । हामी निकै नाफा बढाउने हिसावले गएको छैन ।
·    अबको व्यवस्थान कसरी अगाडि बढनु पर्ला ?
अझै पनि हामीले राष्ट्र बैंकले तोकेअनुसारको १० प्रतिशत पुँजीकोष पु¥याउन सकेको छैन । अबको व्यवस्थापनलाई सबैभन्दा ठूलो चुनौति र गर्नेपर्ने पुँजी योजना पूरा गर्ने हो । त्यो बाहेक पुँजी योजना अन्तर्गत बाँकी रहेको सम्पत्ति बेचबिखन, व्यापार विस्तार गरेर लैजानुपर्छ । अहिले हेर्ने हो भने सीडी रेसियो ५६ प्रतिशत मात्रै छ । राष्ट्र बैंकले ८० प्रतिशतसम्म जान सुविधा दिएकोले कर्जा तथा लगानी बढाउन सकिन्ने ठाउँ छ । प्रतिस्पर्धाका लागि ग्राहकलाई सन्तुष्ट बनाउन पहिलो ध्यान दिनुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना