• ६ चैत २०८०, मङ्गलबार

‘फास्ट ट्रयाक’को सुरुङ खन्न रोक

blog

काठमाडौँ, जेठ २२ गते । निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक)को सुरुङ खन्ने काम रोकिएको छ । दुई खण्डमा खनिँदै आएको काम ठेक्का सम्झौताअनुरूप नदेखिएकाले नेपाली सेनाले ठेकेदारलाई काम रोक्न निर्देशन दिएको हो । चिनियाँ ठेकेदारले सुरुङ खन्नका लागि सम्झौताअनुसारको ‘थ्री आम्र्स जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको पाइएपछि तत्काल काम रोक्न निर्देशन दिइएको हो ।  

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम रोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “द्रुत मार्ग आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले अहिले सुरुङ मार्गको पुनरवलोकन गरिरहेको छ ।

अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने वा थप गर्नेलगायतका विषयमा समेत निर्माण कम्पनीसँग छलफल गर्नुपर्ने भएकाले समेत काम रोकिएको हो ।” पुनरवलोकन तथा अबका दिनमा गरिने कामको रूपरेखा तय हुनेबित्तिकै सुरुङ खन्ने काम पुनः सुरु गरिने उहाँले बताउनुभयो । परामर्शदाता कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस–वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त) जेभीले सुरुङको पुनरवलोकनको काम गरिरहेको छ ।

पचास मिटर खनियो

द्रुत मार्गको अहिलेसम्म ५० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको प्रवक्ता सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ मार्गको पहिलो प्याकेजअन्तर्गत ३० मिटर र दोस्रो प्याकेजअन्तर्गत अहिलेसम्म २० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । 

सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माणकार्य तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । ती कम्पनीसँग २०७८ वैशाखमै सम्झौता भएको थियो । कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाइब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबैभन्दा लामो सुरुङ मार्ग महादेवडाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३ किलोमिटर रहेको छ ।

त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसेखोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाइब्रिज निर्माण गरिँदै छ । यस प्याकेजअन्तर्गत कुल १.४ किलोमिटर सुरुङ मार्ग र हाइब्रिज निर्माण गरिनेछ । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः करिब २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुत मार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले २०७४ साउन २७ गते द्रुत मार्गको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।