• ६ चैत २०८०, मङ्गलबार

अभ्यास खेलमा नेपाल पराजित

blog

नेपालका कप्तान सन्दीप लामिछाने र अल स्टार्सका कप्तानपृथु बाँस्कोटा ।

काठमाडौं, जेठ २० गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । अमेरिकाको पेरिरी भ्यू क्रिकेट मैदानमा बिहीबार राति भएको खेलमा नेपाल अमेरिकामा रहेका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । 

नेपालले दिएको एक सय ९१ रनको विजयी लक्ष्य अल स्टार्सले ३३.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अल स्टार्सको जितमा विपुल शर्माले सर्वाधिक ५० रन बनाउनुभयो । एन्ड्रिज गौसले ४५ र गौरभ बजाजले अविजित ४० रन बनाउनुभयो । 

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९० रन बनाएको थियो । नेपालका आरिफ शेखले अविजित ६० रन बनाउनुभयो । विनोद भण्डारीले २६ र करण केसीले २१ रन बनाउनुभयो । बलिङमा अल स्टार्सका मार्टिन कैनले तीन विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले दुई दुई विकेट लिनुभयो । नेपालले दोस्रो अभ्यास खेल शनिबार ह्युस्टन हरिकेन्सविरुद्ध खेल्नेछ ।

आईसीसी विश्वकप लिग–२ को यस सिरिजमा नेपाल आयोजक अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजमा नेपालले पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ ।

आईसीसी लिग–२ मा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।