• ६ चैत २०८०, मङ्गलबार

समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित

blog

छिन्चु समाचादाता

सुर्खेत, जेठ २० गते । नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका अधिकांश विद्यालयमा पुग्नुपर्ने पाठ्यपुस्तक पुगेका छैनन् । ढुवानीको समस्या देखाउँदै कर्णालीका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पु-याइएको छैन । विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरूबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको बताइएको छ ।

कर्णाली प्रदेशका जिल्लामा समयमै पर्याप्त पाठ्यपुस्तक नपु-याउँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित बन्दै गएको छ । शैक्षिक सत्र सुरु भएको डेढ महिना बित्दा पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीले अझै पुस्तक पाएका छैनन् । केही विद्यालयले पुराना पाठ्यपुस्तकबाट काम चलाइरहेका छन् ।

पुस्तक ढुवानी प्रभावित बनेपछि विद्यार्थीले नयाँ किताब पाएर पढ्ने रहर कहिले पूरा हुने हो भन्ने अझै निश्चित भएको छैन । कर्णालीका नौ जिल्लामा आंशिक रूपमा पाठ्यपुस्तक पुगे तापनि मुगुमा हालसम्म पुस्तक ढुवानी भएको छैन । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक सुर्खेतको गोदाममै थन्किएको जनाएको छ ।

मुगुका लागि २४ लाख रुपियाँका पुस्तक तयारी अवस्थामा राखिएको छ तर खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयले कुनै चासो दिएका छैनन् । प्रदेशका हिमाली जिल्लामा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक नपु¥याइ सरोकारवाला निकायले चरम लापरबाही गरेको शिक्षकहरूको गुनासो छ ।

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कक्षा ५, ८ र १० कक्षाको आधा पुस्तक कर्णालीमा नआएको र पूरै सेट पुस्तक नहुँदा विद्यार्थीको पढाइ थप प्रभावित बनेको जनाएको छ । केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले स्थानीय तह र विद्यालयहरूबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताउनुभयो ।

“पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गर्दा केही समय ढिलो भएको हो,” उहाँले थप्नुभयो, “कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट पाठ्यपुस्तक ढुवानी भइरहेको छ ।

सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पाठ्यपुस्तक पठाइएको छ । कालीकोटमा तीन हजार, दैलेखमा चार हजार पाँच सय, जाजरकोट र सुर्खेतमा चार÷चार हजार तथा जुम्लामा दुई हजार पाँच सय सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउनेबित्तिकै पठाउने तयारी भइरहेको छ ।”