• ६ चैत २०८०, मङ्गलबार

कृषिमन्त्री भारत प्रस्थान

रासायनिक मल, व्यापारबारे छलफल हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादव भारत भ्रमणमा जानुभएको छ । खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा सहभागी हुन भारत जानुभएका कृषिमन्त्री यादवले त्यहाँ रासायनिक मल खरिद तथा कारखाना खोल्ने, व्यापार सहजीकरणलगायतका विषयमा कुरा गर्नुहुने कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो । 

यसअघि सम्झौता भएको जीटुजी मल खरिद गर्ने विषयमा कृषिमन्त्री यादवले त्यहाँका रसायन तथा उर्वरकमन्त्रीसँग छलफल गर्ने उहाँले बताउनुभयो । खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सकेपछि भारतका रसायन एवं उर्वरकमन्त्रीसहित तीन जना मन्त्रीसँग भेटघाट गरी कृषिसँग सम्बन्धित विषयमा कुराकानी गर्ने कार्यतालिका तय भएको उहाँले जानकारी दिनुभयो । 

भारतसँग जीटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । भारतले मल दिने कम्पनी पनि छनोट गरी नेपाललाई जानकारी गराइसकेको छ तर सम्झौताबमोजिमको मल नेपालले पाउन सकेको छैन । 

कृषि मन्त्री यादवले रासायनिक मल कारखाना खोल्ने विषयमा पनि भारतसँग छलफल गर्ने उहाँका प्रेस सल्लाहकार सत्यप्रकाश यादवले जानकारी दिनुभयो । 

नेपालको अन्तर्राष्ट्रिय व्यापारको मुख्य साझेदार भारत रहेको र औद्योगिक बाली निर्यात हुँदा विभिन्न समस्या आउने गरेकाले व्यापार सहजीकरणको विषयमा पनि छलफल हुने बताइएको छ । अलैँची, चिया, कफी, अदुवालगायतका उपज निर्यातमा सहजीकरणका लागि पनि मन्त्री यादवले अनुरोध गर्ने उहाँले जानकारी दिनुभयो । 

कृषि बाली÷फार्मको सेन्टर अफ एक्सिलेन्स स्थापनामा भारतको सहयोगको अपेक्षा कृषि मन्त्रालयले गरेको छ । त्यसको विषयमा पनि मन्त्री यादवले छलफल गर्ने कार्यक्रम छ । सातवटै प्रदेशमा सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने कृषि मन्त्रालयको कार्ययोजना छ । 

नेपालमा हाल खेती भइरहेको उखुका जात पुराना र उत्पादकत्व ह्रास भएको सन्दर्भमा भारतमा विकास भएका उच्च उत्पादकत्व भएका उखुको जर्मप्लाज्म उपलब्ध गराउन पनि मन्त्री यादवले छलफल गर्नुहुनेछ । त्यस्तै उत्पादन÷उत्पादकत्व वृद्धिका लागि नश्ल सुधार गर्न मुर्रा राँगा ल्याउने सम्बन्धमा कुराकानी हुनेछ । 

भारतले नेपाललाई मुर्रा राँगा दिने प्रतिबद्धता जनाइसकेको छ । त्यसका बारेमा पनि मन्त्री यादवले थप छलफल गर्ने कार्यक्रम रहेको रहेको छ । भारतले हरियाणा र नोयडास्थित दुईवटा फार्मबाट राँगा उपलब्ध गराउन सक्ने भनि नेपाललाई पत्राचार पनि गरिसकेको छ । पशुपन्छीको रोग नियन्त्रण र पशुपन्छीको व्यापार प्रवद्र्धनमा सहजीकरणका लागि थप नाकामा एकीकृत चेकपोस्ट स्थापनाका लागि पनि छलफल हुने बताइएको छ । मन्त्री यादवको भ्रमण टोलीमा कृषि सचिव निरु दाहाल, सहसचिव सवनम सिवाकोटी पनि रहनुभएको छ । मन्त्री यादव जेठ २६ गते नेपाल फर्किने कार्यक्रम छ ।