सकियो ‘सान्दाजुको महाभारत’

 

 


काठमाडौँ, असोज २४ गते। साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको नाटक ‘सान्दाजुको महाभारत’ लाजिम्पाटस्थित थिएटर भिलेजमा करिब एक महिनासम्म मञ्चन भयो ।

देशका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका राजनीतिज्ञ बिपीको जन्मदिन २४ भदौको अवसर पारेर मञ्चन सुरु गरिएको उक्त नाटक डा अभि सुवेदीले लेखेका लेख्नुभएको हो । परिकल्पना तथा निर्देशन भने विमल सुवेदीको हो ।

विसं २००७ का क्रान्ति नायक तथा २०१५ सालको आम निर्वाचनबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभएका बिपीलाई त्यसको करिब दुई वर्षपछि नै राजा महेन्द्रले जेल हालेका थिए ।

त्यसपछि उहाँलाई राजद्रोहलगायतका थुप्रै मुद्दा लगाइयो । यसैबीच, अदालतलाई दिएको बयानलाई केन्द्रबिन्दु बनाएर सुवेदीले ‘सान्दाजुको महाभारत’ तयार पार्नुभएको हो ।

थिएटर भिलेज परिसरमा टाँसिएका उहाँका विभिन्न उमेर समूह र परिस्थितिमा खिचिएका आकर्षक तस्बिरले ‘सान्दाजु’ हाम्रैसामु यही कतै भएको भान हुन्थ्यो ।

नाटकमा चन्द्र शमशेर र मोहन शमशेरजस्ता राणाशाही र उनीहरुका भरौटेले सर्वसाधारणका छोराछोरीलाई कति निच व्यवहार गर्थे भन्ने कुरा पनि नाटकमा देखाइएको छ ।

नाटकका नायक सान्दाजु अर्थात् बिपीको भूमिकामा देखाएका डा सञ्जीव उप्रेती साँच्चै सान्दाजु नै हुन् कि जस्तो भान पर्छ । त्यस्तै, गणेशमान सिंहको भूमिकामा देखिएका प्रदीपकुमार चौधरी तथा बिपी पत्नी सुशीला कोइरालाको भूमिकामा देखिएकी सूर्यमाला खनालले पनि न्याय गरेका छन् । मोहन शमशेरको अभिनय गरेका सरोज अर्यालको कठोर हाउभाउ देख्दा लाग्छ उनी साच्चै ‘ए क्लास’का राणा हुन् ।

लेखक सुवेदीले बिपीमार्फत आममानिसको मुक्तिलाई प्रस्ट्याएका छन् । उनले नाटकमा बिपीका राजनीतिक, बौद्धिक र साहित्यिक आयामको सम्मिश्रण गर्नुभएको छ ।

साथै, नाटकमा ‘तीन घुम्ती’, ‘एक रात’, ‘श्वेत भैरवी’, ‘नरेन्द्र दाइ’, ‘मोदी आइन्’ आदि कृतिका पात्रमार्फत विमलले बिपीको विचार प्रस्ट्याउन खोजिएको छ ।

निर्देशक विमलले कलाकारलाई पात्रमा ढाल्न सफल भएका छन् । दर्शकले नाटक हेरुन्जेल हरेक ऐतिहासिक पात्रको भूमिकामा देखिने कलाकारलाई त्यही स्वरुपको देखेर कल्पनामा रमाउन सक्छन् ।

नाटकमा सूत्रधारको रुपमा प्रस्तुत भएका शलिल सुवेदीले सर्वसाधारणलाई नाटक बुझाउन सघाउ पु¥याउनुभएको छ । करिब दुई घन्टा लामो नाटकका मुख्य पात्र सान्दाजुले जनताको सर्वोच्चता र स्वतन्त्रताको लागि आफू लडेको बताउँदै भन्नुभएको छ – “एक दिन अवश्य जनताका प्रतिनिधिले बनाएको संविधान देशमा आउने छ ।”
संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएको वर्तमान परिवेश देख्न पाउँदा लाग्छ ‘सान्दाजु’को प्रतिबद्धता साँच्चै पूरा भएको छ ।

 रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना