• ६ चैत २०८०, मङ्गलबार

मैथिली रङ्गमञ्चका सशक्त कलाकार अनितारानी

blog

स्मृति मिश्र 

जनकपुरधाम, जेठ १९ गते । जीवन्त र चरित्रसङ्गत अभिनय तथा सशक्त र प्रभावोत्पादक संवाद प्रवाहीकरणबाट मैथिली रङ्गमञ्चमा उपस्थिति जनाउने थोरैमात्र महिला कलाकारमा अग्रणी हुनुहुन्छ – अनितारानी मण्डल । रङ्गमञ्चमा महिलाको उपस्थिति न्यून भएका बेला पनि प्रभाव, पहुँच र निकटताका आधारमा अवसर पाउने दुर्नियतिकाबीच रङ्गकर्ममा मण्डलको प्रवेश प्रतिभा र क्षमतालाई निरन्तर तिर्खादै जाने मिहिनेतका कारण सम्भव भयो । 

मैथिली, भोजपुरी र नेपाली गरी आधा दर्जन चलचित्र, सयौं लघु चलचित्र, कयौं सडक नाटक र मञ्चमा हुने नाटक, प्रहसन आदिमा सहभागी भएर सदैव चर्चा र प्रशंसाको पात्र बन्दै आउनुभएका उहाँ कला क्षेत्रमा आर्थिक असुरक्षा भए पनि यस फाँटमै संलग्न भइरहन चाहनुहुन्छ । मधेसको प्रदेशको राजधानी जनकपुरधामलाई आधारक्षेत्र बनाएर कलायात्रा अघि बढाइरहनुभएका उहाँ महोत्तरी जिल्लाको धबौलीका बासिन्दा हुनुहुन्छ । गत १७ वर्षदेखि मैथिली रङ्गमञ्चका रमाउनुभएका मण्डल भन्नुहुन्छ, ‘कला क्षेत्रमा दाम छैन । तर, नाम र आत्मा जुराउने सन्तुष्टि छ । यही नै मेरो सम्पत्ति हो ।’  

राजेशप्रसाद मण्डल र चन्द्रदेवी मण्डलका छोरी अनितारानी कलाक्षेत्रको मर्म र सम्भावना बुझ्नुभएका पति सतिशकुमार मण्डलको सहयोग र साथले मैथिली रङ्गमञ्चमा स्थापित हुनुहुन्छ । कलाकारका रूपमा काम आरम्भ गर्न सजिलो भए पनि एउटा महिलाका लागि यस क्षेत्रमा टिकिरहन निकै मुश्किल हुने अनुभव मण्डलको छ । ‘आर्थिक असुरक्षा, घरव्यवहार धान्नुपर्ने बाध्यता, अवसरमा पहुँच अभाव आदि धेरै कारण छन् जसले गर्दा महिलालाई कला क्षेत्रमा टिक्न गाह्रो हुन्छ,’ मण्डल भन्नुहुन्छ ।

नाटक छोटो हुन्छ । केही बेरसम्म मञ्चित हुन्छ । तर रङ्गमञ्चको त्यो केही बेरका लागि महिनौं तयारी गर्नुपर्ने हुन्छ । पात्रलाई बाँच्नुपर्दा त्यसअनुसार शारीरिक तथा मनोवैज्ञानिक तयारी पूरा गर्नुपर्ने हुन्छ । मण्डलको बुझाइ छ, ‘हो, यो मिहिनेत रङ्गमञ्चको नेपथ्य हो । जसको मूल्यांकन दर्शकदीर्घामा बसेका सामान्य व्यक्तिले गर्दैनन् ।’

मैथिली कलाक्षेत्रको विकासमा व्यक्तिगत र संस्थागत दुवै योगदान भइरहेको छ । तर, राज्यको लगानी भने अत्यन्त कम छ । कलासँग जोडिएका राज्यसंयन्त्र थोरैमात्र छन् । भएका सरकारी संस्था पनि वृहत हितपोषणका पक्षमा काम गरेका देखिँदैनन् । कलाकार मण्डल भन्नुहुन्छ, ‘यहाँ कलाकारले आफ्ना क्षमताका भरमा काम गर्नुपर्ने हुन्छ । सहयोग र प्रोत्साहन गर्ने सरकारी निकाय उदासीन छ ।’ उहाँको गुनासो मधेस प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डसँग छ । बोर्डले कलाकारको वृत्तिविकास र सामाजिक सुरक्षाका लागि काम नगर्नुलाई उहाँ दुर्भाग्यपूर्ण मान्नुहुन्छ ।