संविधानसभालाई अनिर्णयको बन्दी बनाउन खोजियोः पौडेल

Bishnu Paudel UMLलक्ष्मण पौडेल भैरहवा, पुस २० गते । पुर्वमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन खोजिएको बताउनुभएको छ ।

संविधान निर्माणका लागि सहमति नजुटिरहेको अवस्थामा प्रक्रियालाई अस्वीकार गर्नेहरुले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै उहाँले यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।
लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्थाारा सञ्चालित रेडियो लुम्बिनीको आइतबार आयोजित १६ औं वार्षिक साधारण सभाको उदघाटन गर्दै एमाले उपमहासचिव पौडेलले दलहरुसामु तीनवटा विकल्प रहेको बताउनुभयो । विनाशकारी, सहमति र प्रक्रिया गरी तीनवटा विकल्प मध्ये विनाशकारी विकल्प रोजिए संविधानसभा असफल हुने र यसले थप विनाश निम्त्याउने उहाँको भनाई छ । सबैभन्दा सुन्दर विकल्प सहमति भएपनि सहमति हुन नसकेको अवस्थामा प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने पौडेलले बताउनुभयो ।
“लोकतन्त्र भनेको सके सहमति नभए बहुमतीय प्रक्रिया हो, यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्छ”–उहाँले भन्नुभयो ।
उहाँले राजनीतिक संवाद समितिले विवादका विषयमा निष्कर्ष दिन नसक्दा मस्यौदा तयार हुन नसकेको भन्दै अब विवादका सबै विषयलाई दुई तिहाई बहुमतद्वारा पारित गर्नेगरी प्रक्रियामा जानुपर्नेमा जोड दिनुभयो । संविधान निर्माणका सवालमा सबै पार्टीलाई एउटै बास्केटभित्र राखेर आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै एमाले उपमहाचिव पौडेलले यस्तो प्रवृत्तिले संविधान चाहने दल र शक्तिलाई न्याय नहुने बताउनुभयो ।
उहाँले बुटवलमा करिब डेढ अर्बको लगानीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुन लागेको, भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढेको र कालीगण्डकीको पानीलाई तिनाउमा खसाल्नको लागि डिपिआर निर्माणको काम सुरु भएको भन्दै विकासका ठूला आयोजनालाई आलोचनाको विषय नबनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै पुर्व सभासद एवं एमालेका पुर्व केन्द्रीय सदस्य नेत्र पन्थीले यस क्षेत्रको विकासका लागि लुम्बिनी महानगरपालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिंदै रेडियो लुम्बिनीले आर्थिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा छुट्टै अस्तित्व र पहिचान बनाएको बताउनुभयो ।
त्यस अवसरमा रेडियोका अध्यक्ष लक्ष्मण ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्टेशन म्यानेज इन्दिरा अर्यालले रेडियोले सञ्चालन गर्दै आएका कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।
यसैबीच साधारण सभाको बन्दसत्रले कृष्णप्रसाद अर्याल अध्यक्ष रहेको नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दुजेन्द्र बस्नेत, कोषाध्यक्षमा दुर्गा पाण्डे र सदस्यहरुमा अर्जुनराज उपाध्याय, भरत भुसाल, मनिष अधिकारी, देवी वाग्ले, रेनुका खरेल, एजाज आलम, चेतनारायण भण्डारी, सुनिल वझा, मोहन चापागाईं, टंक पाण्डे, देवानन्द पाण्डे र इन्द्रबहादुर सुनार रहनुभएको छ । त्यस्तै साधारण सभाले प्रकाश पौडेल संयोजक, श्याम बस्याल र भाष्करनाथ पाण्डे सदस्य रहेको लेखा समिति पनि चयन गरेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना