• ६ चैत २०८०, मङ्गलबार

नेपाल–इजरायलबीचको सम्बन्ध थप सुदृढ : सञ्चारमन्त्री कार्की

blog

बुधबार इजरायल दूतावासद्वारा सुन्दरीजलमा आयोजित ‘बीपी कोइराला र नेपाल इजरायल सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

सुन्दरीजल (काठमाडौं), जेठ १८ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र इजरायलबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ। सञ्चारमन्त्री कार्कीले मानव संसाधन विकास, शिक्षा, कृषि प्रविधि र रोजगारमा भएको आपसी सहकार्यका कारण नेपाल र इजरायलबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको हो।

इजरायल दूतावासद्वारा सुन्दरीजलमा बुधबार आयोजित ‘बीपी कोइराला र नेपाल इजरायल सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो। 

नेपाल–इजरायलबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ६२ औँ वार्षिकोत्सवका अवसरमा यो कार्यक्रम आयोजना गरिएको हो। मन्त्री कार्कीले नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल र इजरायलबीच सिधा हवाई सम्पर्क आवश्यकता औंल्याउनुभयो।

उहाँले इजरायल सरकारले नेपालको सातै प्रदेशमा उत्कृष्ट कृषि केन्द्र स्थापना गर्ने समझदारीलाई कार्यान्वयन गरे दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, २०७२ साल वैशाख १२ गते गएको भूकम्पलगत्तै इजरायल सरकारबाट प्राप्त उद्धार कार्य र राहत सामग्रीबारे उल्लेख गर्दै सो कार्य प्रशंसनीय रहेको स्मरण मन्त्री कार्कीले गर्नुभयो।

नेपाल–इजरायलबीचको सम्बन्ध थप प्रगाढ र सुदृढ बनाउनका लागि अझ धेरै सम्भावना रहेको उहाँको भनाइ छ।

नेपालका लागि इजरायली राजदूत खनान गोडेरले इजरायल-नेपाल सम्बन्ध प्रगाढ रहेको बताउनुभयो। इजरायलले नेपालसँगको सम्बन्धलाई विशिष्टरूपमा लिएको उहाँको भनाइ छ। दक्षिण एसियाली देशमा इजरायलसँग द्विपक्षीय सम्बन्ध स्थापना गर्ने नेपाल पहिलो राष्ट्र हो। त्यतिबेला नेपालमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो।  


सन् १९६० जुन १ मा नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको  थियो। त्यसबेलादेखि इजरायल सरकारबाट दिगो कृषि विकास र प्रविधि, सहकारी, सैनिक–नागरिकसम्बन्ध, विशिष्ट प्रकारका सैनिक तालिम, ‘एलिट फोर्स’को स्थापनालगायतका क्षेत्रमा नेपाललाई सहयोग प्राप्त हुँदै भएको छ।