• ६ चैत २०८०, मङ्गलबार

अध्यक्ष वा प्रमुखको अधिकार

स्थानीय तहका प्रमुख : ‘शासक होइन सेवक बन्‍नुपर्छ’

blog

काठमाडौं, जेठ १७ गते। स्थानीय तहको निर्वाचन सकिएको छ। देशभर ३४ हजार ९५३ जना निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो कार्यभार सम्हाल्नु भएको छ। कतिपय स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचन भइरहेको छ।

 स्थानीय तहका प्रमुख तथा अध्यक्षको नेतृत्वमा स्थानीय सरकारको सञ्चालन सुरु भएको छ। नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको संवैधानिक व्यवस्था गरेको छ।

 नवनिर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको काम गर्न सुरु गरिसकेका छन्। ती पदमा पुगेका जनप्रतिनिधिलाई स्थानीय तहको सबै कार्यकारिणी अधिकार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बताउनुहुन्छ। 

उहाँका अनुसार, अध्यक्ष तथा प्रमुखलाई बोर्ड बैठक, नगरसभाबाट भएका निर्णयको कार्यान्वयन गर्ने पूरा जिम्मेवारी हुन्छ। “समयसापेक्ष, निर्णय गरेर कार्यान्वयन गर्ने अधिकारलाई भने बोर्ड बैठकमा अनुमोदन गर्नुपर्ने हुन्छ,” प्रमुख महर्जनले भन्नुभयो। पुनः दोहोराएर प्रमुखमा निर्वाचित हुनुभएका महर्जनले आफूले आफ्नो विजयको श्रेय कामप्रतिको इमानदारिता रहेका बताउनुहुन्छ।

बैठकको अध्यक्षता गर्ने, रुलिङ्ग गर्ने कानूनअनुसार काम गर्ने कुनै पनि नगरप्रमुख तथा अध्यक्षको पहिलो अधिकार हुने हुनाले ठूलो कर्तव्य पलना गर्नुपर्ने हुन्छ। आफूले त्यसरी नै काम गरेकाले पुनः नगरबासीले मौका दिएको उहाँको भनाइ छ। 

उहाँका अनुसार, काम गर्दा अध्ययन पुग्नुपर्छ। अध्ययन नगरी काम गर्दा बिग्रन सक्ने हुन्छ। पहिले पनि महानगर प्रमुख भइसकेकाले विभिन्न किसिमका ३० वटा कार्य समिति, उपसमिति हुने हुँदा त्यो संघ–संस्थाको अध्यक्ष संयोजक हुन्छ। “ती सबैको बनावट ऐन, निर्देशिका वा कार्य आदेशले तोके बमोजिम हुन्छ,” महर्जनले भन्नुभयो,“त्यस कारण नीति, नियम पढ्नुपर्ने हुन्छ, ती कुरा पढेर बैठकमा उपस्थित हुँदा आफ्नो उपस्थिति सशक्त हुन्छ।” 

गर्न नसक्ने कुरा गर्छु भनेर नभन्दा नै उत्तम हुने उहाँको सुझाव छ। आर्थिक रुपमा निक्कै पारदर्शी नीति नियमभन्दा बाहिर गएर सेवा लिन पनि हुनुहुँदैन। त्यसरी काम गर्दा कसैले खोट लगाउन सक्दैन। यस्ता कामले एक किसिमको ख्याति पाउने हुन्छ। 

“त्यसमाथि महानगरको प्रमुख भएपछि म शासक भएर होइन, सेवक हुँ, भन्ने विचार हुनुपर्छ,” उहाँले भन्नुभयो,“कतिपयले मलाई महानगरको राजा भनेर भन्नुहुन्छ, तर म त महानगरको सेवक हँु भन्छु, म जनता जनार्दनको सेवक हुँ।” उहाँले राजा भन्ने शब्द आफूमा किमार्थ लागू नहुने स्पष्ट पार्नुभयो। 

जिन्दगीमै धेरै तडगभडग गर्न नहुने उहाँको सुझाव छ। सादा जीवन उच्च विचार (सिम्पल लिभिङ्ग हाइ थिङ्किङ) को सोच मानिसमा हुनुपर्छ। आम जनतालाई चित्त बुझ्ने काम गर्नुपर्छ। नचाहिँदो काममा नलाग्न उहाँको सबैमा आग्रह छ। 

उहाँका अनुसार, अबको कार्ययोजना गएको पाँच वर्षमा कति काम भए कति बाँकी छ, त्यसलाई पहिले पूरा गर्ने। नयाँ–नयाँ थुप्रै योजनाहरु आफूसँग रहेकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने भएकाले कुनै पनि अपरझट परी आउने कुरा जस्तैः कोरोना ‘बाजा बजाएर आएको होइन’। त्यस्तै, किसिमका अपर्भmट् आई पर्ने कुरामा सक्षम भएर निर्णय गरेर त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्ने छ। 

उहाँको अबको प्रमुख जिम्मेवारी नै ललितपुर महानगरपालिकालाई बस्न लायकको शहर बनाउने हो। उहाँले भन्नुभयो,“त्यसका लागि धेरै योजनाहरु सञ्चालन भइसकेको छ, त्यसलाई पूरा गरेर ललितपुरलाई बस्न लायक बनाउने हो।” ललितपुरमा रोजगारीको समस्या पनि रहेकाले आफ्नो ध्यान त्यतातिर केन्द्रित भएको उहाँले बताउनुभयो। 

२०४४ सालमा चुनाव लड्दै गर्दा झिनो मतले विजयी हाँसिल गरेकामा अहिले अपार सहयोग पाएर आफूले बोक्नै नसक्ने गरी भोट पाएकोमा महानगरप्रमुख महर्जन अत्यन्त खुशी हुँदै आफू ऋणी भएको बताउनुभयो। “२०७४ सालमा पनि झिनो मतले विजयी भएँ, अहिले लगभग १९ हजार बढी मत ल्याएर विजयी भएकाले त्यसको निमित्त सबै नगरबासीलाई गोरखापत्र अनलाइनमार्फत् धन्यवाद ज्ञापन गर्न चाहन्छु,” उहाँले भन्नुभयो। 

‘नगरप्रमुखले सबै जिम्मेवारी पूरा गर्नुपर्छ’

कैलाली जिल्लाको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नगरपालिका एउटा सरकार रहेकाले नगरप्रमुखले सबै जिम्मेवारी पूरा गर्नुपर्ने  बताउनुभयो। उहाँका अनुसार, नगरपालिकामा सामान्यतया सुविधा सम्पन्न शहरी प्रशासनिक केन्द्र हुनुपर्छ। नगरपालिका एक भौगोलिक तथा प्रशासनिक एकाई रहेकाले यसको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हुन्छ। यो नगरमा सबैभन्दा बढी बाढी, डुबान, कटानी हुने हुँदा हजारौँ बिगाहाको बाली नोक्सान हुने र खाद्यान्न अभाव हुने बस्तीहरु छन्। 

उच्च जोखिममा रहेको नगरपालिकामा स्थानीय सरकारले मात्र काम गर्न सम्भव नभएकाले केन्द्र सरकारसँग समन्वय गरेर आफू काम गर्ने योजनामा रहेको बताउनुभयो। कैलालीमा रहेको मोहना, कान्द्रा, काँढा र पथरैया नदीकोबीचमा रहेको नगरपालिकाको सबैभन्दा ठूलो समस्या नै बाढी हो।

 “यो ठाउँमा मौसमअनुसार समस्या हुन्छ,” उहाँले भन्नुभयो,“तर, पनि विश्वमा लोपोन्मुख डल्फिन यस नगरपालिकाबाट दृश्यावलोकन गर्न सकिने हुँदा, पर्यटकीय क्षेत्रको संभावना पनि उत्तिकै छ, थुप्रै तालतलैया रहेकाले पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्नेमा मेरो ध्यान केन्द्रित छ।” उहाँले व्यवस्थापकीय कार्य गर्ने अङ्ग नै नगरसभा रहेकाले आफूले काम गर्न पछि नपर्ने बताउनुभयो। 

स्थानीय सरकार संचालन ऐन, २०७४ ले जनसंख्या र भूगोलको अनुपातमा पूर्वाधार र मापदण्ड तय गरेको छ। यसको जिम्मेवारी अहिले आफ्नो काँधमा आएकाले पूर्ण पालना गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। संविधानले स्थानीय सरकारलाई सबै अधिकार दिएकाले जनताको भावना र आवश्यताअनुसार नीति नियमभित्र रहेर काम गर्दै जानेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ। 

“जनताको विश्वस र भारोसालाई यो कार्यसमितिले मर्न दिने छैन, पूरा गर्नेछ, अहिलेको मुख्य समस्या छाडा गाई–गोरु रहेकाले त्यसको व्यवस्थापन गर्न लागेका छौँ,” प्रमुख चौधरीले भन्नुभयो। थप विकास निर्माणको कामलाई निरन्तरता दिँदै नगर कसरी हरियाली बनाउन सकिन्छ, योजनाअनुसार काम गर्दै जाने बताउनुभयो।

अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार :

(१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,

(२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्य सूची तथा प्रस्ताव पेस गर्ने, गराउने, 

(३) वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेस गराउने,  

(४) सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने, 

(५) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने, 

(६) कार्यपालिकाको बैठक कार्यको सामान्य रेखदेख, सुधार्ने र नियन्त्रण गर्ने,

(७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाको सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई खटाउने,

(८) दफा १२ को खण्ड (ङ) बमोजिम वडा सदस्यबाट सम्पन्न हुने सिफारिस तथा प्रमाणित हुने विषयबाहेक प्रचलित नेपाल कानूनबमोजिम स्थानीय तहबाट गर्नुपर्ने, 

(९) गाउँपालिका तथा नगरपालिकाको चल–अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने, 

(१०) गाउँपालिका तथा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,  

(११) संवैधानिक सेवा प्रवाहसम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने।

(१२) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुनुभएमा अध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिएर पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने।

(१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने।  

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।