• ६ चैत २०८०, मङ्गलबार

जहाज दुर्घटनाले मर्माहत बनाएको छ : एमाले

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले तारा एयरको नाइन एन एईटी कलसाइन जहाज दुर्घटनामा परी २२ जनाको दुःखद मृत्युले पार्टी मर्माहत भएको जनाएको छ । पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीद्वारा सोमबार जारी विज्ञप्तीमा सो घटना दुःखदायी भएको बताएको हो ।

“हिमाली जिल्ला जोमसोमका लागि पोखराबाट यही जेठ १५ गते उडानमा रहेको तारा एयरको नाइन एन–एईटी कलसाइन जहाज आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको खबरले हाम्रो पार्टी अत्यन्त मर्माहत भएको छ” विज्ञप्तीमा उल्लेख छ ।

दुर्घटनामा मृत्युवरण गर्ने नेपाली नागरिक तथा विदेशीहरुप्रति एमालेले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । “बेलाबेलामा नेपाली आकाशमा हुने गरेका यस किसिमका हवाई दुर्घटनाबाट पाठ सिक्दै हवाई सुरक्षाको नियम कडाइका साथ पालना गर्न र वर्षाद्को समयमा पहाडी तथा अन्य ठाउँमा मौसमको जानकारी यथासमयमा उपलब्ध गराउन  सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ” विज्ञप्तीमा भनिएको छ ।

भविष्यमा हवाई सुरक्षालाई थप भरपर्दो र सुरक्षित बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।