मेची राजमार्गः कतै पक्की, कतै धुलाम्य

भद्रपुर, पुस १९ गते । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्ने मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ ।

मेची राजमार्ग निर्माणको कुरा २०२८ सालदेखि उठ्दै आएको छ । विकास र समृद्धिको कुरा गर्ने राजनीतिक पार्टीका नेताले यही विषयलाई उठाउँदै जनताको मत लिएर सांसद्, सभासद््, मन्त्री बनिसकेका छन्, तर राजमार्ग निर्माणले अन्तिम रुप लिन सकेको छैन ।

हाल ताप्लेजुङ सदरमुकामदेखि चीनसँगको सीमावर्ती ओलाङचुङगोलासम्मको थप १२३ किमी बाटालाई मेची राजमार्गमा गाभिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । ताप्लेजुङको अति विकट ओलाङ्चुङगोला कुनै सरकारी कर्मचारीलाई नसियत दिन सरुवा गर्ने स्थानका रुपमा पनि चर्चित छ ।

झापाको केचनाकवल (नेपालको सबैभन्दा होचो स्थान) बाट ताप्लेजुङ सदरमुकामसम्मको २६८ किमी ओगट्ने मेची राजमार्गअन्तर्गत झापाको पूर्वपश्चिम राजमार्गको चारआलीदेखि ताप्लेजुङ्गसम्म २२९ किमी बाटो पक्की भइसकेको छ । सो मार्गलाई पूर्णता दिन केचनाकवलदेखि चारआलीसम्म ३९ किमी हुलाकी मार्गको भारत सरकारले निर्माण गर्ने जनाइएको छ ।

ताप्लेजुङदेखि ओलाङचुङ्गोलासम्म अहिले पनि धुलाम्मे तथा कच्ची नै छ । इलाम, पाँचथर र ताप्लेजुङभित्रको बाटो पाँच वर्षअघि नै निर्माण भइसक्दा पनि केचनाकवलदेखि चारआलीसम्मको बाटो निर्माण नहुँदा जनतामा निराशा छाएको छ ।

केचनाकवलदेखि चारआलीसम्मको सडक निर्माण गर्न भारतको हैदरावादका ठेकेदारले ठेक्का लिई काम सुरु गरेको केही महिनापछि नै काम छाडी भागेको बताइएको छ । विकास एवम् उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेची राजमार्ग बन्ने कुरा धेरै पहिलेदेखि चल्दै आएको केचना निवासी समाजसेवी पञ्चानसिंह राजवंशीले बताउनुभयो । उहाँले भन्नुभयो–“मेची राजमार्गको कुरा जनमतसङ्ग्रह, २०४६ सालको राजनीतिक परिवर्तन र २०६२ । ६३ सालको ऐतिहासिक जनआन्दोलनसँगै दुई पटकको संविधानसभाको निर्वाचन देखिसक्यौँ तर बाटामा परिवर्तन देख्न पाएनौँ । ”

भारत सरकारले पठाएको ठेकेदारलाई हेर्दा आशा जागेको तर ल्याइएका डोजर, पिङल तथा स्काभेटर पृथ्वीनगर गाविसमा थन्क्याएर भाग्नाको कारण पनि कसैले नखोज्नु दुःखको कुरा रहेको केचना निमाविका प्रधानाध्यापक अमरसिंह राजवंशीले बताउनुभयो ।

सो बाटासँग जोडिएको भद्रपुर नगरपालिका तथा पृथ्वीनगर, बनियानी, केचना, बालुवाडी, पथरिया, पाठामारी, दुवागढी, पहिलेको चन्द्रगढी र घेरावारी गाविसका जनतालाई यातायातको निकै असुविधा भइरहेको छ ।

आधा घन्टामा सदरमुकाम चन्द्रगढी आइसकिने बाटामा दुई घन्टाभन्दा बढी समय लाग्ने र बाटाको धुलाम्मे स्थितिले गर्दा त्यस क्षेत्रका जनतामा सुख्खा मौसममा श्वासप्रश्वास र वातावरणमा नराम्रो असर पर्ने गरेको छ ।

मेची राजमार्ग हेर्ने हुलाकी मार्ग निर्माण योजना कार्यालय सुनसरी इटहरीका प्रमुख नवोनाथ झाले भारत सरकारको ठेक्का टुटेपछि बाटाको स्तरोन्नति गर्न सरकारसँग रु ४३ लाख रकम माग गरेको तर हालसम्म नआएको प्रतिक्रिया दिनुभयो ।

स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले सो सडक नबन्दा जनतामा जुन दुःख र कष्ट देखिएको छ त्यसलाई तत्काल निराकरण गर्न सरकारसँग रु ७५ लाख मागे पनि रकम आएको छैन भन्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का राष्ट्रिय उपाध्यक्ष एवम् भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दुकुमार मल्लिकले जबसम्म मधेसमा अधिकारसहितको सङ्घीयता आउँदैन तबसम्म यहाँ विकास हुन सक्दैन भन्नुभयो । नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष ओम सरावगीले देशभरिमा उत्तर–दक्षिणका करिब १९ सडक हुलाकी मार्ग भनेर पहिचान एवम् परिभाषित गरिएको छ भन्दै अब हुलाकी मार्ग निर्माण गर्दा नेपाल र भारत सरकार आपसमा बसेर अघि बढे कुनै पनि स्थानमा अवरोध नआउने जिकिर गर्नुभयो ।

झापा निर्वाचन क्षेत्र नं १ र २ मेची राजमार्गभित्र परेको र निर्वाचन क्षेत्र नं ३ र ४ हुलाकी मार्गको सहायक माग परिभाषित गरिएको केचनाकवलदेखि चारआलीसम्मको सडक भारत सरकारले नै बनाउनुपर्ने सभासद् सुधिर शिवाकोटी बताउनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना