• १६ चैत २०८०, शुक्रबार

बाइस सार्वजनिक संस्थान नाफामा

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, जेठ १५ गते । सरकारी स्वामित्वमा सञ्चालन भएका २२ सार्वजनिक संस्थान नाफामा र १९ वटा घाटामा छन् । आव २०७७/७८ मा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा नाफामा र १९ वटा घाटामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । कोभिड महामारीका कारण संस्थानको नाफा घट्दै गएको हो ।  

नाफामा सञ्चालन भएका संस्थानहरूबाट आव २०७७/७८ मा सरकारले छ अर्ब ७२ करोड १४ लाख रुपियाँ लाभांश प्राप्त गरेको छ । आव २०७६/७७ मा यस्तो नाफा १४ अर्ब नौ करोड ९५ लाख रुपियाँ थियो, जुन ५२.३३ प्रतिशतले कमी हो ।

आव २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १.५१ प्रतिशतले वृद्धि भई चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपियाँ पुगेको छ । आव २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत छ । सो आर्थिक वर्ष सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड नौ लाख रुपियाँ आयकर प्राप्त भएको छ ।

आव २०७७/७८ मा नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ । 

आव २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई एक खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपियाँ कायम भएको छ । 

आर्थिक वर्ष २०७६/७७ मा संस्थानको कुल सञ्चालन आय चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकामा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले वद्धि भएर चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । 

गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ३५ करोड ८८ लाख पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा जम्मा छ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम हो ।

सबै संस्थानको सञ्चित नाफा (सञ्चित नोक्सान कटाएर) २१.५४ प्रतिशतले वृद्धि भई ९१ अर्ब ७७ करोड ९३ लाख पुगेको छ । गत वर्ष २४ वटा संस्थानले नाफा गरेका थिए । दुई संस्थानको कारोबार शून्य थियो भने १८ संस्थानले घाटा बेहोरेका थिए । 

यसपालि घाटामा जाने संस्थान एउटा थपिएको छ । जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै  छ । नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार छैन ।

नेपाल रेलवे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा रहेको भए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी बेहोरिरहेका छन ।