• ८ वैशाख २०८१, शनिबार

जनप्रतिनिधिलाई तालिम दिँदै सरकार

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, जेठ १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलार्ई तालिम प्रदान गर्नेभएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका प्रमुख र उप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन र स्थानीय विकाससम्बन्धी दुईदिनसम्म तालिम प्रदान गर्न लागिएको हो । 

मन्त्रालयको आयोजना र सम्बन्धित प्रदेश सरकारको सहकार्यमा अभिमुखीकरण तालिम प्रदान गर्न लागिएको मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते, मधेश, गण्डकी र कर्णालीमा  २७ र २८, बागमती र लुम्बिनी प्रदेशमा ३० र ३१ स्थानीय तहका प्रमुख र उपप्रमुखलाई तालिम प्रदान गर्न लागिएको हो । स्थानीय तहका प्रमुख र उपप्रमुखलाई तालिमसम्बन्धी जानकारी सम्बन्धित प्रदेशमा रहेको प्रादेशिक सुशासन केन्द्रमार्फत गराइनेछ ।

उहाँका अनुसार नवनिर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सङ्घ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध, संविधान र कानुनले प्रदान गरेका स्थानीय तहका काम कर्तव्य र अधिकार, स्थानीय तहका राजस्व सङ्कलनका क्षेत्र, सार्वजनिक खरिदको व्यवस्थापन, विकास निर्माण गर्दा सम्बन्धित क्षेत्रसँगको अन्तर सम्बन्ध, योजना तर्जुमा प्रक्रिया, स्थानीय तहको सुशासन र सदाचारबारे स्थानीय तहका जनप्रतिनिधिलाई तालिम प्रदान गरिनेछ । 

कतिपय जनप्रतिनिधि नयाँ भएकाले स्थानीय सरकार सञ्चालनसम्बन्धी जानकारी अभावमा कार्यसम्पादन फितलो हुने भएकाले स्थानीय सरकार सञ्चालनसम्बन्धी तालिम प्रदान गर्न लागिएको खनालले बताउनुभयो ।