• ८ वैशाख २०८१, शनिबार

शैक्षिक सामग्री वितरण

blog

तौलिहवा, जेठ १५ गते । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले ३१औँ स्थापना दिवसको अवसरमा एक बालगृहमा आश्रित असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल बालसङ्गठनद्वारा सञ्चालित बालगृहमा रहेका २५ जना बालबालिकालाई कपी, ज्यामेट्रिक बक्स, कलमलगायत सामग्री वितरण गरेको प्रेस युनियन कपिलवस्तु शाखाका सभापति गोपाल भण्डारीले बताउनुभयो ।

श्रमजीवी पत्रकारको पेसागत हकहित संरक्षणका लागि आवाज उठाउँदै आइरहेको प्रजातान्त्रिक पत्रकारको साझा संस्था युनियनले स्थापना दिवसमा बालगृह बालबालिकालाई विभिन्न कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । 

बालसङ्गठनका सचिव श्याम प्रजापतिले बालगृह असहाय बालबालिकाको भविष्य निर्माण गर्ने थलो बनेकाले यसको विकासका लागि सबैको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

छात्रालाई साइकल 

कपिलवस्तु समाचारदाताका अनुसार मायादेवी गाउँपालिकाअन्तर्गत कक्षा ८ का छात्रालाई अध्ययनमा सहजताका लागि साइकल वितरण गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कक्षा ८ का ५२ जना छात्रालाई साइकल वितरण गरिएको हो ।  मुनेश्वर माध्यमिक विद्यालय बहरवासी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भैसकुण्डा र जनता आधारभूत विद्यालय मनखोरियाका कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरण गरिएको गाउँपालिका अध्यक्ष वालिउद्दिन मुसलमानले बताउनुभयो । 

विद्यार्थी टाढा–टाढाबाट आउने भएकाले अध्ययनमा धेरै सहज हुने र शिक्षाको गुणस्तर सुधारमा मद्दत पुग्ने उद्देश्यले साइकल वितरण गरिएको उहाँले बताउनुभयो ।  छोरीलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत आरक्षणको व्यवस्थामा जोड दिन आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष सरस्वती यादवले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि अग्रसर बनाउने लक्ष्यका साथ आफूहरू अघि बढ्ने उहाँले बताउनुभयो ।