• १६ चैत २०८०, शुक्रबार

बालक निलेको सडक

नाला त बन्यो, जोखिम अरु बढ्यो

blog

काठमाडौँ, जेठ १५ गते  । काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१२ कपनको मिलनचोकस्थित तरकारी बजारमा ठेलामा व्यापार गर्दै आउनुभएकी सविना तामाङलाई पानी पर्नासाथ आफ्नो सरसामान पोको पार्ने हतारो हुन्छ । 

सडकको दुर्दशा र एकैछिनमा सडकमा खोलो बग्ने भएकाले वर्षायाम सुरु हुनासाथ उहाँको दिनचर्या नै बदलिन्छ । उहाँले भन्नुभयो, “जुनसुकै बेला पानी पर्छ । पानी परेपछि बाढी आइहाल्छ । सडकमा भेल बग्न थालेपछि सामान थन्क्याएर भाग्नुको विकल्प छैन ।”तामाङले यहाँ व्यापार गर्न थालेको आठ वर्ष भयो । पाँच वर्षयता यस क्षेत्रका नागरिक वर्षायाममा भेलबाढी सहन बाध्य रहेको उहाँले बताउनुभयो । 

कच्ची सडकमा गिट्टी र ढुङ्गा बिछ्याइएको छ । मिलनचोकबाट तेन्जिङचोक र उत्तरतर्फ जाने सडकबीचमा खाल्डो छ । दक्षिणतर्फ ह्युमपाइप छ, पूर्वतर्फ ४१ मिटरमध्ये १२ मिटर नालाको माथिल्लो सतह ढलान हुन बाँकी छ । ठेकेदार कम्पनीले सम्झौता सकिन एक दिन बाँकी रहँदा पनि ढलानको काम अधुरो छाडेको छ । निर्माण सकिन लागेको अन्तिम बिन्दु र त्यहाँबाट सुरु हुने ह्युमपाइपको अवस्था हेर्दा त्यो अर्को धराप थापेको स्पष्ट देखिन्छ । ठूलो मुख भएको ढलानबाट आएका पानी सानो मुख भएको ह्युमपाइपबाट धोबीखोलामा जानेगरी संरचना तयार भएको छ । 

यो ठाउँ २०७८ असोज ५ गते ११ वर्षीय बालक बाढी आएको बेला त्यही ह्युमपाइपमा परी बेपत्ता भएका थिए । उनको शव पाँच दिनपछि ललितपुरको महाँकाल गाउँपालिकास्थित बागमती नदीमा फेलापरेको थियो । सो दुर्घटनापछि बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले नाला निर्माण गर्न ठेक्का दिएको हो । आर्थिक वर्ष २०७८/०७९ का लागि ‘एम-एम दी सुप्रिम निर्माण सेवा प्रालि’ले मिलनचोकको ४१ मिटर नाला निर्माणका लागि ४९ लाख ११ हजार ६७२ रुपियाँको ठेक्का पाएको हो । 

नाला निर्माणबारे गोरखापत्रले वैशाख २६ गते ‘मनसुन आयो, नाला बनेन’ शीर्षकमा समाचार प्रकाशित गरेपछि ठेकेदार कम्पनीले १७ मिटर नाला निर्माणसम्पन्न गरेको छ । तर, ठेक्का सम्झौताअनुसारको १२ मिटर नाला भुइँको सतह र दायाँ–बायाँ ढलान गरे पनि माथिल्लो सतह ढलान भएको छैन । सोही स्थान बस्ने ६७ वर्षीय मनबहादुर घिसिङले नाला निर्माणकार्य अधुरो हुँदा जोखिम झनै बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाला निर्माण टुङ्गिएको ठाउँमा ठूलो खाडल छ । बाढी आउँदा ह्युमपाइपमा नअटेर सडकमा खोलो बग्छ । पानी पर्दा छोराछोरीलाई विद्यालय पठाउन डर लाग्छ ।” 

उहाँले नाला निर्माणाधीन स्थानमा बनेको खाडल पानी आउँदा दह बन्ने र सवारीसाधन प्रयोगकर्ता पनि त्यसमा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई यहाँ खाडल छ भन्ने थाहा छ । तर, बाहिरबाट आउने मान्छे सिधै खाडलमा पर्छन् । बिहीबारको भीषण वर्षापछि खहरे बाढी आउँदा चार/पाँच जनालाई जोगाउनुप-यो ।”

सोही स्थानमा नाति गुमाएका बूढानीलकण्ठ–१२ सुकुम्बासी बस्तीका मङ्गल कोइराला (विश्वकर्मा) र उहाँकी श्रीमती धनमाया विश्वकर्माले भन्नुभयो, “हाम्रो नाति गुम्यो । तर, अरूलाई यस्तो विपत्ति नआओस् । सडक बनाउने काम अधुरै छोडेर खेलाँची नगरियोस् ।” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काठमाडौँका प्रमुख रिसव खनालले आइतबारसम्ममा ढलानको काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले नाला र सडक जोडिने ठाउँमा पनि सुरक्षाको प्रबन्ध गर्ने बताउनुभयो । उत्तरतर्फबाट काठमाडौँ विकास प्राधिकरणले ठेक्का दिएर नाला निर्माणकार्य सुरु गरेकाले यहाँको समस्या चाँडै समाधान हुने खनालको विश्वास छ । ठेकेदार नवराज पौडेलले १२ मिटर नालाको ढलान आइतबारसम्ममा सक्ने लक्ष्यसाथ श्रमिक र निर्माणसामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो । 

Author

अशोक अधिकारी