• १४ वैशाख २०८१, शुक्रबार

दैलेखमा एक दर्जन झोलुङ्गे पुल निर्माण

blog

दैलेख, जेठ १५ गते । दैलेख जिल्लामा एक दर्जन झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सुविधा पुग्ने छ ।दुल्लु नगरपालिका र ठाँटिकाँध गाउँपालिका बाहेक अन्य नौ स्थानीय तहका १२ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएका हुन् । 

पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारबाट १२ वटा पुल निर्माणका लागि दुई करोड पाँच लाख बजेट गत साउनमै निकासा भए पनि काम ढिलो गरी सुरु भएको जानकारी दिनुभयो । उहाँले एउटा पुल निर्माणका लागि २५ लाखदेखि ८० लाखसम्म बजेट आएको र त्यहीअनुसार टेन्डर प्रकाशन गरी काम सुरु गरेको जानकारी दिनुभयो ।

झोलुङ्गे पुल निर्माणका लागि साझेदार संस्था ग्रामीण विकास केन्द्र दैलेखका कार्यकारी निर्देशक नवीनकुमार शर्माले कार्यालयसँग सम्झौता भए लगत्तै झोलुङ्गे पुलको डिजाइन स्टिमेट, उपभोक्ता समिति निर्माण, उपभोक्ता समितिलाई आवश्यक तालिम दिइएको बताउनुभयो । उहाँले १२ वटा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका पदाधिकारी र त्यसका काम गर्ने दक्ष कामदारसहित ४८ जनालाई तालिम दिइएको जानकारी दिनुभयो ।

दैलेखमा आठबिस नगरपालिकाका–५ खिड्कीजउला झोलुङ्गे पुल, चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिका जोड्ने गडाजिउला झोलुङ्गे पुल, ठाँटिकाँध गाउँपालिकाको–२ र ४ जोड्ने मझेलैना झोलुङ्गे पुल, महाबु गाउँपालिका–३ र भैरवी गाउँपालिका–४ जोड्ने बाँदरखड्के झोलुङ्गे पुल, भगवतीमाई गाउँपालिका–२ र ३ जोड्ने रुम मेहेल्तोली झोलुङ्गे पुल, नौमूले गाउँपालिका–४ मा माओखोला झोलुङ्गे ट्रस पुल र गाउँपालिका ६–७ जोड्ने बक्रखोला झोलुङ्गे पुल, डुङ्गेश्वर गाउँपालिका–३ मा निर्माणाधीन हनेटा झोलुङ्गे पुल, गुराँस गाउँपालिका–७ उगाडखोला झोलुङ्गे पुल, भगवतीमाई गाउँपालिका–५ मा रहेको मलुका झोलुङ्गे पुल र  हाडीखोला झोलुङ्गे पुल गरी १२ वटा पुल निर्माण हुँदैछन् । 

जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखमा कुल ५५ वटा पुल निर्माणको चरणमा रहेको र अहिलेसम्म तीन सय झोलुङ्गे पुल निर्माण गरिसकेको दाबी ग्रामीण विकास केन्द्रले जनाएको छ । पछिल्लो समय प्राविधिक स्टिमेट र वातावरणीय प्रभाव मूल्याङ्कनबिना खनिएका सडकका कारण गाउँमा जोखिम बढ्दा झोलुङ्गे पुलको माग पनि बढी आउने गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Author

निर्माण सम्पन्न भएको लोहोरे खोलाको झोलुङ्गे पुल । तस्बिर : कमल शर्मा