• ८ वैशाख २०८१, शनिबार

नेपाल र टिमोर लिस्टेको बराबरी

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १५ गते । एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले टिमोर लिस्टेको यू–२३ टोलीसँग बराबरी खेलेको छ । दोहामा शनिबार राति भएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पूरनागमन गर्दै बराबरी गोल फर्काएको थियो । पहिलो हाफको अन्तिममा दुई गोल खाएको नेपालले दोस्रो हाफमा बराबरी गोलसँगै उत्कृष्ट प्रदर्शन कायम राख्यो । 

नेपाले अब जेठ २० गते ओमानसँग पनि कतारमै मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम रहेको छ । दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा)ले भने मान्यता दिएको छैन । यसअघि दोहामा नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । तर अफागानिस्तानले अन्तिममा कतार आउन अस्वीकार गरे पनि उक्त खेल रद्ध भएको थियो । 

मैत्री खेल र एसिया कप छनोटका लागि एन्फाले नेपाली टोलीको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिएको छ । नेपाली टोलीका सिनियर खेलाडी रोहित चन्दसहित बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असहमति जनाउँदै बिद्रोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि टोलीमा कप्तानसहित नयाँ खेलाडीलाई मौका दिईएको हो।

यसअघिका नियमित कप्तान किरण चेम्जोङले समेत विद्रोह गर्ने खेलाडीको पक्षमा समर्थन गरेपछि उहाँलाई पनि टोलीमा राखिएको छैन । नेपाली टोली मैत्रीपूर्ण खेल खेलेर उतैबाट कुवेत जानेछ । एसिया कप छनोट खेल कुवेतमा जेठ २५ देखि ३१ गतेसम्म कुवेतमा हुनेछ । छनोट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ ।

तुलनात्मक रुपमा कठिन रहेको यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छ ।  नेपालले समूहको पहिलो खेल जेठ २५ गते जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ ।