• १३ वैशाख २०८१, बिहिबार

अतिक्रमण रोक्न तारजाली

blog

ढल्केबर, जेठ १५ गते  । धनुषाको मिथिला नगरपालिका–११, सिकारी डाँडा वन क्षेत्रमा अतिक्रमण बढेपछि वन अतिक्रमण रोक्न काँडे तारले घेराबेरा गर्न थालिएको छ । सब डिभिजन वन कार्यालय लालगढ धनुषाले वन अतिक्रमण रोकथाम गर्न वन क्षेत्रमा आरसीसी पोल तथा काँडेतारले घेराबेरा लगाउन थालेको हो । 

लालगढस्थित सवडिभिजन वन कार्यालयका वन अधिकृत मदन चौधरीले सिकारी डाँडा वन क्षेत्रको ३५ हेक्टरमा तारजालीले घेराबेरा गर्न लागिएको बताउनुभयो । उहाँले घेराबेराको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकीको काम एक÷दुई दिनमा सकिने जानकारी दिनुभयो । 

त्यस क्षेत्रमा टहरा बनाएर खेतीयोग्य जग्गामा परिणत गरेर वन अतिक्रमण बढेको थियो । अतिक्रमित जग्गामध्ये करिब दुई हेक्टर जग्गा खाली गराइएको वन उहाँले जानकारी दिनुभयो । २०५८ सालमा १६ सय हेक्टर वन क्षेत्र सुन्दरी सामुदायिक वन उपभोक्ता समिति गठन गरेर समुदायलाई वन संरक्षणको जिम्मा दिइएको थियो तर २०६२ सालमा आएर उपभोक्ता समिति निष्क्रिय भएपछि वन अतिक्रमणसँगै काठ तस्करी ह्वात्तै बढेको थियो । 

वन अतिक्रमण तथा काठ तस्करीका कारण उजाड बनेको वन क्षेत्रलाई पुनः हराभरा गराउन तार जाली गरेपछि विभिन्न प्रजातिका वृक्षारोपण गर्ने उहाँले जानकारी दिनुभयो । यसरी तार जाली लगाउँदा वनभित्र भएका बोट बिरुवाको संरक्षण हुने र स्थानीयको खेती पनि संरक्षण हुने उहाँको दाबी छ । वन क्षेत्र मासिँदै गएपछि बाँदर, बँदेल, नील गाई र मृगजस्ता वन्यजन्तुले बस्तीमा अन्नबाली नष्ट गर्दै आएका छन् । तार जालीपछि वन्यजन्तु मानव बस्तीमा जान नसक्ने र घर पालुवा जनावर पनि वन क्षेत्रमा प्रवेश गर्न नसक्ने हुँदा वन क्षेत्रका रुख बिरुवा फस्टाउने उहाँले बताउनुभयो । 

डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख सुनीलकुमार कर्णले वन अतिक्रमण नबढोस् भन्नका लागि तार जाली लगाइएको जानकारी दिनुभयो । उहाँले ताराबारले वन अतिक्रमण रोकिने र काठको चोरी निकासीमा नियन्त्रण हुने दाबी गर्नुभयो । हालसालै वन क्षेत्रमा अतिक्रमण गरिएका जमिन खाली गर्न लगाएको उहाँले जानकारी दिनुभयो । 

सिकारी डाँडा वन क्षेत्रको जमिन खेती गर्ने प्रयोजनले मात्रै अतिक्रमण भएको छैन । त्यस स्थानमा अधिकांश घर टहरा बनाई स्थायी बसोबास गर्ने सुकुम्बासी छन् । यसका साथै अन्यत्र घर भएकाले पनि सो स्थानमा अस्थायी घर बनाएर बसेकोले वनको जमिन अतिक्रमण भइरहेको छ ।