• ७ वैशाख २०८१, शुक्रबार

लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन

blog

च्याम्पियन्स लिग उपाधिसहित रियल म्याड्रिड । तस्बिर : एएफपी

काठमाडौं, जेठ १५ गते । युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । पेरिसमा शनिबार राति भएको यस सिजनको फाइनलमा इङ्लिस क्लब  लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो ।

रियल १४औं कीर्तिमानी उपाधि जित्न सफल भयो । रियलको जितमा ब्राजेली स्टार भिनिसियस जुनियर नायक बन्नुभयो । भिनिसियसले ५९औं मिनेटमा फेडे भाल्भर्डेको पासमा गरेको गोल निर्णायक बनेको थियो । 

प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले पहिलो हाफमा गोलको राम्रा अवसर खेर फालेको थियो । मोहमद सलाह र साडियो मानेको प्रहारमा रियलका गोलरक्षक थिवाउट कोर्टुवा बाधक बन्नुभएको थियो । पहिलो हाफमा रियलका कप्तान करिम बेन्जेमा पनि चुक्नुभएको थियो ।

दोस्रो हाफमा आक्रामक देखिएको रियलले एउटै गोलमा बाजी मार्न सफल भयो । सर्वाधिक १४ औं  पटक च्याम्पियन्स लिग उपाधि जितेको रियल यसअघि सन् २०१८ मा च्याम्पियन भएको थियो । रियलले त्यतिवेला फाइनलमा लिभरपुललाई नै ३–१ गोलले हराएको थियो । जसको बदला लिन लिभरपुलले सकेन । एजेन्सी