• १६ चैत २०८०, शुक्रबार

साह र राई गणतान्त्रिक फूलबारीका दुई फूल : प्रचण्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका दुई युवा प्रमुखलाई फूलसँग तुलना गर्नुभएको छ ।

प्रतिनिधि सभाको शनिबारको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा “दुईवटा सुन्दर फूल फक्रिएको” बताउनुभयो । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह तथा धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज साम्पाङ राईको प्रशंसा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “उहाँहरू (साह र राई) दुवै जना यही संविधानको फूलबारीभित्र हुनुहुन्छ । जनताका बीचबाट दुवै युवा आउनु भयो, यो विशिष्ट हो ।” माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र संविधानलाई गतिशील पार्ने प्रक्रियामा कोसेढुङ्गा भएको बताउँदै समृद्धि तथा विकासका निम्ति दल र नेतृत्वको एकतामा सहमति एवं समझादारी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “एकले अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान हुने स्थिति छैन । हिजो गम्भीर प्रकृतिका समस्या एकता र समझादारीबाट समाधान गरिएको हो ।”