• ८ वैशाख २०८१, शनिबार

गेटा अस्पताल चाँडै सञ्चालनमा आउने

blog

फूलबारी, जेठ १५ गते । धनगढीको गेटामा निर्माण भएको मेडिकल कलेज तथा अस्पताल यसै वर्ष सञ्चालनमा आउने भएको छ । तीन सय श-याको अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै जनतालाई स्वास्थ्यमा पहुँच र स्वास्थ्य जनशक्ति उत्पादन गर्ने गरी गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय एक दशकअघि नै गर्नुभएको थियो । त्यसैअनुसार अस्पतालको पूर्वाधार तयार भइसकेको छ । 

अहिले अस्पताल सञ्चालनका लागि पनि प्रधानमन्त्री देउवाले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको छ । सोही निर्देशनबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सञ्चालनको तयारी गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले यसै आर्थिक वर्षदेखि गेटा मेडिकल अस्पताल सञ्चालनमा आउने प्रतिबद्धता सार्वजनिक गरिसक्नुभएको छ ।यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले एक दुई हप्ताभित्रै समिति गठन गरी गेटा मेडिकल अस्पताल सञ्चालनमा ल्याइने बताउनुभएको छ । 

कैलाली जिल्लाको गेटास्थित मेडिकल कलेज सञ्चालनको माग राख्दै स्थानीय आन्दोलित बनेपछि नेपाली कांग्रेस नेत्री डा. देउवाले भिडियो सन्देशमार्फत यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेत्री डा. देउवाले गेटा मेडिकल कलेजका विषयमा अनावश्यक भ्रम फैलाइएको समेत बताउनुभयो । 

डा. देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी सदस्यसचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन  मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समितिले स्थलगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरिसकेको छ ।

डा. जोशीले उक्त कार्ययोजनाकै आधारमा यसै वर्षदेखि अस्पताल सञ्चालन हुने भएको बताउनुभयो । त्यसैअनुसार सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा गेटा अस्पतालका लागि बजेट विनियोजन गर्ने भएको छ । उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल, बिजुली र पानीको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो । सोही सुझावका आधारमा आवश्यक सबै काम यसै सुरु गरिने भएको हो । 

डा. देउवाले कानुनअनुसार मेडिकल कलेज सञ्चालनका तीन वर्ष अस्पताल सञ्चालन भइसकेपछि मात्र मेडिकल कलेज सञ्चालन गर्न पाइने भएकाले पनि अस्पताल सञ्चालनमा केही समस्या देखिएको उल्लेख गर्नुभएको छ । गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो । 

सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना गरेको छ । त्यसका साथै अन्य आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी काज वा करारमा लिएर खटाउन सक्ने पनि व्यवस्था छ । स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्तलगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ति गरेर अस्पताल सञ्चालन हुने बताइएको छ ।