• १६ चैत २०८०, शुक्रबार

संविधानको भावनाअनुसार समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व

blog

मकवानपुर, हेटौँडा, जेठ १५ गते । संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु हामी सबैको दायित्व भएको प्रदेश प्रमुख यादवचन्द्र शर्माले बताउनुभएको छ ।

गणतन्त्र दिवस २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वर्तमान व्यवस्थामा हामीले प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेसिता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु हामी सबैको दायित्व भएको बताउनुभएको हो ।

उहाँले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्धिको आधारसमेत तयार गरिदिएको भन्दै सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देश भन्नुभएको छ, यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो ।

नेपाली जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको दिनको स्मरण गर्दै उहाँले संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरु सुनिश्चित भइसकेको बताउनुभयो । 

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, नेपाल र नेपालीहरुको उज्ज्वल भविष्यका लागि गणतन्त्र स्थापनाले जीवनका आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा मार्ग प्रसस्त गर्न सकोस् ।