• ७ वैशाख २०८१, शुक्रबार

पाठ्यपुस्तकबिनै पढाइ सुरु

blog

सिन्धुलीको कमलामाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका विद्यार्थी पाठ्यपुस्तकबिना नै विद्यालयमा अध्ययन गर्दै । तस्बिर : बाबुराम देवकोटा

सिन्धुलीमाढी, जेठ १५ गते । सिन्धुली जिल्लामा अधिकांश सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तकबिना नै पढाइ सुरु गरेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै सिन्धुली जिल्लामा सामुदायिक विद्यालय सञ्चालनमा आएका भए पनि विद्यार्थी पाठ्यपुस्तकको पर्खाइमा बसेका विद्यालयले जनाएका छन् । 

कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ विद्यालय खुले पनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक यो वर्ष परिवर्तन भएकाले इन्टरनेटबाट मास्टर कपी तानेर शिक्षकले पढाएका छन् तर विद्यार्थीले पाठ्यपुस्तकको अभावमा पढ्न र गृहकार्य गर्न भने पाएका छैनन् । कहिले किताब आउने हो, अझै ठेगान छैन ।”

अन्य कक्षाको पाठ्यपुस्तक पुरानैसँग मिल्ने भए पनि गाउँमा साथीको पुस्तक खोजेर लिएर विद्यालयमा पढ्न आउभन्दा विद्यार्थीले नमानिरहेको उहाँको भनाइ छ । “नयाँ किताब लिएजस्तो पुरानो किताब लिन विद्यार्थी मान्दा रहेनछन्, अरू कक्षाका विद्यार्थी पनि नयाँ किताबकै पर्खाइमा बसेका छन्,” प्रधानाध्यापक थिङले भन्नुभयो, “अभिभावक र विद्यार्थीले नयाँ किताब कहिले आउँछ भनेर हैरान बनाइसके !”

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना लिए पनि अहिलेसम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको उहाँको भनाइ छ । विद्यालयका अनुसार भर्ना भएसँगै विद्यार्थी नियमित कक्षामा आउने गरेका छन् तर विद्यालयमा किताब छैन । “किताब नहेरी कसरी पढाउने अन्योलमा छौँ,” कमलामाई नगरपालिका–३ स्थित जलकन्या माविका शिक्षक रामप्रसाद सिग्देलले भन्नुभयो, “बाँकी कक्षामा त पुराना किताबले पढाउने गरेका छौँ ।”

सिग्देलले भन्नुभयो, “गत वर्ष कोरोना भाइरसको जोखिमका कारण पढाइ प्रभावित भएको थियो । यो वर्ष विद्यार्थीलाई नियमित रूपमा पढाउने योजना बनाएका थियौँ तर किताबको अभावले योजना नै विफल होलाजस्तो छ ।”

कमलामाई नगरपालिका–६, माझीटारस्थित तिमल्सिना पुस्तक पसलका बिक्रेता दीपक तिमल्सिना अहिलेसम्म सिन्धुली जिल्लामा कक्षा १ र ३ को नयाँ पाठ्यपुस्तक आएको र बाँकी कक्षाको किताब नआएको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, “आए जति कक्षा १ र ३ का किताब विद्यालयमा पठाइरहेका छौँ । बाँकी कक्षाको किताब जनक शिक्षा सामग्रीले दिनसकेको छैन । सेटमा नदिएपछि हामीले पनि ल्याएका छैनौँ ।”

यो वर्ष स्थानीय तह निर्वाचनका कारण जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइ गर्न ढिलाइ गर्दा विद्यार्थीले बेलैमा पाठ्यपुस्तक पाउन नसकेको हुन सक्ने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत दुर्गाप्रसाद काफ्लेले बताउनुभयो । नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा प्रावि ३६२, निमावि ८१ र मावि १२० गरी ५६३ वटा सामुदायिक विद्यालय रहेको उहाँले जानकारी दिनुभयो ।