नाकाबन्दी र भारतीय दृष्टिकोण

kamal rijalकमल रिजाल

मुलुकले यतिबेला घोर सङ्कट झेलिरहेको छ । यसै पनि भूकम्पले थिलथिलो बनाएको मुलुक राम्ररी तङ्ग्रिन पनि पाएको थिएन । जेनतेन उठ्न खोज्दै थियो, यथासम्भव जुरमुराउने प्रयास गर्दै थियो । भनिरहनु परोइन मित्रशक्तिहरूबाट होस्टेहैं पनि भएकै थियो तर त्यति नै बेला अप्रत्यासितरूपमा अघोषित नाकाबन्दीको उपहारसमेत प्राप्त भएकाले मुलुक थप जर्जर हुन पुगेको छ । जनताले संविधानसभाबाट संविधान जारी भएपछि आफ्ना समग्र चाहना पूरा हुने आशा गरेका थिए । उनीहरूले यसैका लागि भनेर दुईपटकसम्म संविधानसभाको चुनावमा भाग लिएका पनि हुन् । नेताहरूबाट पनि त्यस्तै किसिमको आश्वासन प्राप्त भएकै हो । यसमा संविधानसभाले पनि अथक प्रयास गरी झण्डै ९० प्रतिशतको समर्थनमा संविधान जारी गरेको पनि हो ।
संविधानले पनि यथासम्भव सबैको भावना समेट्ने प्रयास गरेकै हो । लिखित दस्तावेज हो सबैका सामू छर्लंगै छ इतिहासमा पहिलो पटक हुनुपर्छ संविधानमा यसरी सबै वर्ग, समूह तथा तह र तप्काका चाहना, भावना तथा हकहित समेट्ने प्रयास भएको । तैपनि केही वर्ग वा समूहले यो र त्यो बाहनामा अनावश्यक बखेडा झिकिदिंदा आम जनसमुदायमा मानमाथि भुक्तमान थपिन पुगेको छ । भन्नैपर्छ अझ यसमा हाम्रा छिमेकी मित्रराष्ट्रको व्यवहारसमेत प्रत्यक्ष, अप्रत्यक्ष तिनै समूह अनुकूल हुन पुग्दा मुलुकमाथि यति बढी घोर सङ्कट आइलागेको हो ।
संसारमा कही पनि शतप्रतिशत आफंैले भने बमोजिम भएको उदाहरण भेटिएको छैन । एउटै घरमा त त्यस्तो हुन्न भने अन्यत्रको के नै कुरा रह्यो र । त्यसमा पनि अहिलेको संविधान भनेको त विभिन्न विचारमा आस्था राख्ने पार्टीहरूको सम्झौताको दस्तावेज हो । यस्तोमा बीस उन्नाइस हुनु ठूलो कुरा होइन । छातीमा हात राखेर भन्न सकिन्छ वर्तमान संविधानले तत्कालका लागि जे जति गर्न सक्थ्यो गरेको छ । बाँकी कसैको चाहना केही भए विस्तारै जनमतद्वारा वैधानिक प्रक्रियाबाट नै पूरा गर्दै जान सकिन्छ । यसरी तिललाई पहाड बनाउनै पर्दैन । लोकतन्त्रमा आफ्ना असन्तुष्टि राख्न पनि पाइन्छ र चित्त नबुझेका कुरा भन्न पनि पाइन्छ तर तिनका पनि विधि र प्रक्रिया हुन्छन् । सबैले सोही अनुसार नै चल्नुपर्छ । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार कुण्ठित गर्ने छुट कसैलाई पनि हुँदैन ।
आफैं चुनावको माग गर्ने, चुनावमा भाग पनि लिने अनि जनताले आफूले भनेबमोजिम अभिमत दिएनन् भनेर समग्र वैधानिक बाटाहरू बन्द गरी तिनै जनताको टाउकोमा असन्तुष्टिको लात मार्ने काम कसैलाई पनि सुहाउँदैन । भनिन्छ बाँदरले आफ्नो घर पनि बनाउँदैन र अर्काको पनि भत्काउँछ । यतिबेला विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा भन्न मन लाग्छ हाम्रा कतिपय मधेसवादी नेताहरू जानीनजानी सोही उखान चरितार्थ गरिरहेका छन् । उनीहरूले आन्तरिक विषयलाई उचालेर कतिपय भारतीय नेताहरूलाई अनावश्यक विवादमा तान्ने काम त यसै पनि गरेका थिए । हाल आएर भारत सरकारको छिमेकी नीतिमाथि हिलो छ्याप्ने प्रयाससमेत गरिरहेका छन् ।
उनीहरूले हाल बलात् सीमा नाका बन्द गर्न लगाई जुन किसिमको आत्मघाती काम गरिरहेका छन् त्यति नै भारतीय छिमेकी नीतिमाथि पनि कुठाराघातको प्रयास भइरहेका छन् । यद्यपि भारत सकारले बरोबर आफूले नाकाबन्दी नगरेको र नाकाबन्दी गर्ने कुनै नीति नै नरहेको प्रष्ट पार्ने प्रयास गर्दै नआएको होइन । तैपनि यसलाई कसैले पनि पत्याउन सकिरहेका छैनन् । हाल भारतीय भूमिमा हाम्रा नून तेल आदि दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने गाडीहरू जसरी अलपत्र परेका छन् तिनले नै भारतीय अर्घेलोको प्रमाण दिइरहेका छन् । हाल देशविदेश सर्वत्र यसबारे जुन चर्चा भइरहेको छ तिनले पनि भारतसरकारतर्फ नै औलो देखाइरहेका छन् । यद्यपि हिजो शनिवार साँझ भारतले केही नाका खोल्ने निर्देशन दिएको चर्चा सुनिएको छ । यदि यो सही हो भने राम्रो भयो । अव उसले बाँकी नाका पनि खुलाएर सद्भाव वृद्धिमा थप सहयोग गर्ने आशा गर्न सकिन्छ ।
हाल नेपाल भारत सीमानाकामा जे जस्ता गतिविधि भइरहेका छन् प्रथमतः तिनको तीव्र आलोचना भारतभित्रै भइरहेको छ । यसप्रति न भारतीय जनता सन्तुष्ट देखिएका छन् न राजनीतिक दलहरू नै । विगत लामो समयदेखि नेपाललाई हेर्दै र बुझ्दै आएका भारतीय कम्युनिस्ट पार्टी  (माक्र्सवादी)का महासचिव सीताराम याचुरीले वर्तमान गतिविधिको कारण भारत सरकारले आफ्नो छवि नै धमिल्यायो भन्नु भएको छ । चिनियाँ राष्ट्रपति सी जिन पिङले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा कसैको नाम नलिइकनै जुन अभिव्यक्ति दिनुभएको छ त्यसभित्र पनि यस्तै तथ्य अनुभूत गर्न सकिन्छ । त्यस्तै नेपालले हालै जारी गरेको संविधानलाई भारतले स्वागत नगरेको भन्ने विषयले पनि त्यत्तिकै चर्चा पाएको छ । भारतले स्वागत ग¥यो, गरेन, गरेको भए कसरी ग¥यो र नगरेका भए किन गरेन त्यो उसले जान्ने कुरा हो तर ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको सहमतिमा जारी भएको संविधान विश्वकै उत्कृष्ट रहेको भने पक्कै हो । हाल यसप्रति विश्वजनमानसमा जुन किसिमको स्वागतको स्वर उर्लेको छ त्यसलाई मनन गर्दा भारत मात्र अछुत रहन सक्ला जस्तो लाग्दैन ।
यसै पनि भारत नेपालको छिमेकी मात्र होइन परम हितैषी राष्ट्र पनि हो । नेपालभारतबीच शताब्दीयौंदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरमै कायम सांस्कृतिक एकताले झनै बलियो बनाएको छ । तथापि समग्रमा भारतले त्यसको जस भने पाउन सकिरहेको छैन । झन् पछिल्लो अवस्थामा आएर नेपाली जनमानसमा भारत सम्बन्धी अर्कै किसिमको सोच विकसित हुन खोज्दै छ । यसलाई राजदूत रेको भनाइले नै प्रष्ट पारिसकेको छ । शताब्दियौंदेखि पारस्परिक सद्भाव कायम रहँदै आएको मुलुकप्रति यस्तो भावना विकसित हुनुलाई कदापि राम्रो मान्न सकिन्न र यसले कसैलाई पनि हित गर्दैन । आखिर यस्तो किन ? यसमा हामी कहाँ चुक्यौं ? त्यसको समेत खोजीनीति आवश्यक भइसककेको छ । दुनियाँलाई थाहा छ भारत नेपाललाई सर्वाधिक सहयोग गर्ने मुलुकमा पर्छ । तैपनि जनस्तरबाट जस मिलिरहेको छैन भने पक्कै कतै न कतै त्रुटी छ । यसलाई प्रष्टरूपमा हाम्रा नेताहरूले भारतीय नेताहरूसमक्ष राख्न सक्नु पनि पर्छ र भारतीय नेतृत्वले पनि मनन गर्नुपर्छ ।
सरकारमा बस्नेहरूले पनि सम्यम हुन सक्नुपर्छ । अहिलेको समय उत्तेजना फैलाउने होइन धैर्य र सम्यमले काम लिने हो । हामी नाकाबन्दी सामना गर्न तयार छौं, हवाइजहाजबाट नुन तेल ढुवानी गर्छौ भन्ने जस्ता अमूर्त कुरा गरेर न कसैको मेख मर्छ । न समस्या समाधान हुन्छ । न नै जोरविजोर प्रणाली लागू गरेको र पेट्रोलमा कुपन सिष्टम लागू गरेको भरमा दायित्व पूरा भएको मान्न मिल्छ । बरु यसो भनिरहनुभन्दा मुलुकले २०४५ सालमा पनि यस्तै किसिमको नाकाबन्दी झेलेको थियो । हामीले गत २७ वर्षमा यसबारे के कस्ता विकल्प सोच्यौं ? कि कसलाई सत्तामा पु¥याउने र कसलाई गिराउने खेलमै समय बरवाद ग¥यौं भन्नेतर्फ ध्यान दिनु नै बुद्धिमानी हुनेछ । अब आयो मधेसवादी नेताहरूका कुरा । उनीहरूले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने अडान राख्नु हुँदैन । यसरी सीमा नाका ठप्प पारेर केही हातलागी हुने वाला छैन । थपडी बजाउँदा एउटा मात्र हात दुखेको उदाहारण कतै पाइएको छैन । संविधानले सक्दो दिएको छ । कसैलाई काखा र कसैलाई पाखा गरेको छैन । त्यसमा पनि चित्त नबुझेको कुनै विषय छन् वार्ता र छलफलबाट टुङ्ग्याउन खोज्नु नै समुचित हुनेछ ।
केही दिनयता केही पार्टी मधेसमा संविधानको उपलब्धीबारे जनचेतना फैलाउने अभियानमा लागेको समाचार आएको छ । यो राम्रो हो । अब बाँकीले पनि त्यसैमा ध्यान दिनु मनासिव हुनेछ । यसमा तराईमधेसबाटै जितेर आएका सांसदहरूको भूमिका बढी महŒवपूर्ण हुनसक्छ । साथसाथै वार्ताको प्रसङ्गले पनि उत्तिकै चर्चा पाउँदै आएको छ र पछिल्लो समयमा केही चरणमा वार्ता भएको समेत खबर छ । यो पनि स्वागत योग्य कदम हो तर यसलाई पनि जतिसक्यो उति चाडो निस्कर्षमा पु¥याउन सक्नुपर्छ । वस्तुतः हालको अघोषित नाकाबन्दीले कसैको पनि हित गरेको छैन । नेपालको त यसै पनि गरेको छैन नै अन्ततः आन्दोलनरत दल र परोक्षरूपले तिनका गतिविधिमा सहयोगी भूमिका निर्वाह गर्ने भारतसरकारकै पनि हित गर्ने छैन भन्ने कुरालाई बिर्सन हुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना