• ११ वैशाख २०८१, मङ्गलबार

लमजुङका विद्यालयमा पूराना पाठ्यपुस्तकबाट पठनपाठन

blog

बेलिना थापा
लमजुङ, जेठ १४ गते ।
लमजुङका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक अभाव भएको छ । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएपनि हालसम्म विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।

पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न समस्या भएको विद्यालयहरुले जनाएको छ । विद्यालयहरुले जेठ ३, ४ गतेबाट पाठ्यपुस्तकको अभावकैबीच पठनपाठन थालेका छन् । बेँसीसहर नगरपालिका वडा नं. ७ चण्डीडाँडास्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु थापाका अनुसार आवश्यकता अनुसार विद्यार्थीले किताब पाएका छैनन् । पुस्तक पसलहरुमा किताब उपलब्ध नहुँदा विद्यालयसम्म ल्याउन सकिएको छैन । अघिल्लो वर्ष प्रयोग भएका किताबलाई ल्याएर पठनपाठन गर्न थालिएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किताब नै अभाव भएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनुभयो । जेठ ४ गतेबाट पठनपाठन थालिएकोमा किताब अभाव भएकाले पाठ्यक्रम अनुसार अध्ययन गराउने र गृहकार्यमा केन्द्रित गरिएको बताउनुभयो ।

बेँसीसहर नगरपालिका १ उदीपुरस्थित जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर अधिकारीले पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थीलाई अध्ययन गर्न असहज भएको बताउनुभयो । अन्य कक्षाका विद्यार्थीलाई पूराना किताबमार्फत् पठनपाठन गरिएपनि कक्षा ४, ७ र ९ को कोर्स परिवर्तन भएकाले समस्या छ । विद्यार्थीहरुसँग भएका केही पूराना किताब र विद्यालयमा भएको पूराना किताबले पठनपाठन भइरहेको छ । किताब पर्याप्त नभएपछि नेटबाट कोर्सहरु डाउनलोड गर्ने र प्रिन्ट गरेर विद्यार्थीलाई दिने गरिएको छ । जेठ ३ गतेबाट पठनपाठन थालिएपनि पाठ्यपुस्तक अभावले विद्यार्थीलाई अध्ययन गर्न र शिक्षकलाई अध्यापन गराउन समस्या भएको छ । विद्यार्थीको भविष्यमाथि खेलबाड भएको अधिकारीले बताउनुभयो ।

जनविकास माध्यमिक विद्यालय बेँसीसहरका प्रधानाध्यापक रत्नमान श्रेष्ठले पूराना किताब खोज्ने र त्यसैबाट अध्यापन गराउने गरेको बताउनुभयो । कक्षा ४, ७ र ९ बाहेकलाई पूराना किताबबाट पठनपाठन गरिएको छ । किताब उपलब्ध नहुँदा विद्यार्थी, शिक्षकलाई समस्या भएको बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखा प्रमुख राजिव सुवर्णकारका अनुसार विद्यालयले पाठ्यपुस्तक अभाव भएको गुनासा गरिरहेका छन् । पूराना किताबबाट काम चलाउनुपर्ने बाध्यता छ । बजार क्षेत्र र नेट इन्टरनेट हुने ठाउँमा डाउनलोड गरी पठनपाठन गर्न सकिएपनि दुर्गममा पठनपाठनमा समस्या भएको बातउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख बिरबहादुर गुरुङका अनुसार विद्यालयमा पाठ्यपुस्तक अभाव भएको गुनासा आएको छ । केही विद्यालयले पूराना किताबबाट पठनपाठन गरेका छन् । केहीले इन्टरनेटबाट खोजी गरेर पनि पठनपाठन गराउँदै आएको जानकारी आएको छ । पाठ्यपुस्तक अभावका कारण विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनुभयो ।

लमजुङमा २०७८ सम्मको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयतर्फ २५ हजार ८१० विद्यार्थी छन् । निजितर्फ आठ हजार ४९२ जना छन् । सामुदायिक विद्यालय ३३६ वटा छन् । निजीतर्फ ३३ वटा विद्यालय छन् ।