• ६ वैशाख २०८१, बिहिबार

सर्लाहीको हरिवनमा छाडा कुकुरको आतङ्क

blog

जनार्जन खत्री
सर्लाही, जेठ १४ गते ।
सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ ।

बिहीबार र शुक्रबार दुई दिनमा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयले बताएका छन् । यसैगरी, मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ ।

कुकुरले टोकेर वडा वडा नं. ८ मा १० जना र वडा नं. ११ मा ६ जना बिरामी परेका स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ ।

कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । कुकुरले घाँटीभन्दा माथिको भागमा टोक्यो भने बढी खतरा हुने नमूना अस्पताल हरिवनका डाक्टर सन्तोष यादवले बताउनुभयो ।

काठमाडौं रेफर गरिएका दुई बालकबाहेक अन्य १४ जना बिरामीहरुले भने नमूना अस्पताल हरिवन र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा पुगेर रेविजविरुद्धको खोप लगाइ औषधोपचार गराएका छन् । हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुङ्गानाका अनुसार किसानले पालेको खसीबाख्रा र कुखुरालाई समेत कुकुरले टोकेको छ ।

मानिस र पशुचौपायलाई जथाभावी टोक्दै हिँडेको कुकुरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर मारेका छन् ।