• १२ वैशाख २०८१, बुधबार

निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन सांसद कर्णको आग्रह

blog

तस्बिर : सुजन गुरुङ

काठमाडौं, जेठ १४ गते । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणाराख्ने क्रममा  सांसद कर्णले निजगढ विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो । सांसद कर्णले डडेल्धुरामा मेडिकल कलेज बनाउने कुरा गरिँदै गर्दा रामराजाप्रसाद सिंह मेडिकल कलेज स्थापना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले सरकारको नीति तथा कार्यक्रम यथार्थमुखी भएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो पार्टीको इतिहासका बारेमा गर्नुभएको टिप्पणीप्रति आपत्ति प्रकट गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले आयात प्रतिस्थापन गर्नेतर्फ सरकारले आफ्ना नीति तथा कार्यक्रममा समावेश गरिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो ।

उहाँले नदी उकासको कार्यक्रम, सिँचाइमा बिजुलीको प्रयोग बढाउने जस्ता विषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अन्तर मन्त्रालयबीचको समन्वय, जनशक्ति प्रक्षेपण, शिक्षा आयोगको प्रतिवेदन तत्कालीन प्रधानमन्त्रीको सोचका कारण रोकिएकाले यस्ता विषयलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्राविधिक शिक्षकको व्यवस्था गर्न, उच्च शिक्षालाई ‘सेन्टर फर एक्सलेन्स’ बनाउने विषय सकारात्मक रहेको भन्दै उहाँले सुर्तीजन्य कार्यक्रमका विषयमा स्पष्टता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो ।

नेपाल आयल निगमको एकाधिकार, चुहावट रोक्नुपर्नेमा जोड दिँदै पोखरेलले पेट्रोलियम खपत घटाउनु जरुरी रहेको स्पष्ट पार्नुभयो । दुई÷दुई पटक संसद् विघटन गरेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला कालापानी लिपुलेक र लिम्पियाधुराको नक्सा छापिएको पुस्तकसमेत वितरण गर्न नदिएको उहाँले आरोप लगाउनुभयो । उहाँले कार्यदल बनाएर त्यस विषयलाई रोकिएको र एक पटक पनि बैठक नराखिएको तथ्य पेश गर्नुभयो ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का सांसद कल्याणीकुमारी खड्काले नेपालको दीर्घकालीन विकासका लागि कच्चापदार्थ भित्र्याएर उद्योग क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सहरलाई व्यवस्थित र सुन्दर बनाउन एकीकृत युटिलिटी करिडोर बनाउनका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद खड्काले भू–उपयोग नीतिको कार्यान्वयन गरी जुन क्षेत्रमा जे व्यवस्थाका लागि भूमि उपलब्ध गराइएको हो, सोही काम गर्नुपर्नेमा जोड दिनुभयो । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय उपकरणको प्रयोग बढाउन उहाँले सुझाव दिनुभयो ।

सांसदहरु पुष्पाकुमारी कर्ण कायस्थ र आशाकुमारी विकले सरकारको नीति तथा कार्यक्रमामा समेटिएका सकारात्मक पाटाका बारेमा आ–आफ्नो मत राख्नुभयो ।