• ६ चैत २०८०, मङ्गलबार

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस

“महिनावारी पाप होइन, पोषिलो खानेकुरा र सरसफाइमा ध्यान दिनुपर्छ ”

blog

काठमाडौं, जेठ १४ गते । चिकित्सकका अनुसार महिलाको गर्भाशयमा भएको रगत योनीबाट निष्कासन हुने प्रक्रियानै महिनावारी हो । महिनावारी भनेको एउटा केटीको शारीरिक रुपमा परिपक्क भएको जानकारी दिने एक प्राकृतिक प्रकिया भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, डा कीर्तिपाल सुवेदी बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “महिनावारी भएपछि महिलालाई परिपक्क भएको र आमा बन्न सक्षम भएकोे संकेत गर्छ ।” साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । महिनावारीको चक्र २८ दिनको हुने गर्दछ । महिनावारी भएपछि महिलालाई परिपक्क भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्छ तर नेपाल लगायत दक्षिणपूर्वी एशियामा महिनावारीलाई पापको रुपमा हेर्ने गर्दछन् । 

महिनावारी भएको बेलामा अवहेलना होईन पोषिलो खानेकुरा खुवाउनुका साथै सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव छ । महिनावारी स्वच्छतामा ध्यान नदिदाँ योनीमा खटिरा आउने यौनीमा अस्वभाविक रुपमा दुर्गन्धित पानी बग्ने र मुत्र संक्रमण जस्ता समस्या देखिने चिकित्सक बताउँछन् ।  


ज्यामिन आइजिन प्रडक्ट नेपालले २०१९ मा गरेको अध्ययन अनुसार नेपालमा एक करोड महिला महिनावारी हुने उमेरका छन् । प्रत्यक दिन तीन जना मध्ये एक जना महिनावारी हुने गर्दछन् । महिनावारी भएका २ Þ५ प्रतिशत महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्ने उक्त अध्ययनले देखाएको छ । नेपालमा महिनावारी भएको बेलामा छाउगोठमा बस्दा बर्षेनी दुई जनाको मृत्युहुने गरेको छ । 

नेपालमा नौ प्रतिशत महिला महिनावारीको समयमा सामाजिक  तथा सास्कृतिक जीवनबाट बञ्चित हुने गर्दछन् । वाटर एड नेपालको तथ्याङ्क अनुसार ८० प्रतिशत महिलाहरु महिनावारी भएका बेला आधारभूत खानेपानी तथा सरसफाई सुविधाबाट वञ्चित छन् । 

 ५३ प्रतिशत छात्राहरु महिनावारी भएका दिनहरुमा विद्यालय छोडी घरमा बस्ने गरेका छन् । ३१ प्रतिशत सार्वजनिक विद्यालयहरुका लागि छुटै शौचालय छैन । ५० प्रतिशत छात्राहरु महिनावारी अवधिभर विद्यालय जाँदैनन । कोही पनि विद्यार्थी विद्यालय जानबाट बञ्चित नहुँन भनेर २०७७ सालबाट सरकारले विद्यालयमा निशुल्क प्याड वितरण गर्दै आएको छ । 

मे २८ का दिन महिनावारी सम्बन्धि जनचेतना फैलाउन अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइन्छ । यसपालीको अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको मुल नारा “विद्यालयमा मर्यादीत महिनावारी : हामी सबैको जिम्मेवारी भन्ने रहेको छ ।”

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको दृश्य सामग्री

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।