• ७ वैशाख २०८१, शुक्रबार

हात्तीका कारण स्थानीय त्रसित

blog

दमक समाचारदाता 

दमक, जेठ १४ गते । झापाको मेचीनगर क्षेत्रमा केही दिनयता लगातार हात्तीको बथान पस्न थालेपछि स्थानीयवासी त्रसितभएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीय त्रसित हुनुपरेको हो ।

हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार भारततर्फबाट दैनिक ५० देखि सयको सङ्ख्यामा बथान बनेर जङ्गली हात्ती बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । विद्युतीय घेराबारासमेत तोडेर हात्ती प्रवेश गरेपछि किसानको अन्नबाली नोक्सान गरेको र हात्ती नियन्त्रणमा समस्या भइरहेको जनाइएको छ । मेचीनगरको वडा नम्बर १ र ४ मा पर्ने क्षेत्रमा भारतबाट दैनिक हात्तीको बथान आइरहेको र स्थानीयले जङ्गलतर्फ लखेट्ने गरेको बताएका छन् ।

थोरै सङ्ख्यामा आएका हात्ती चाहिँ गाउँ पस्ने र क्षति पु-याउने गरेको उप्रेतीको भनाइ छ । “दुई तीनवटाको सङ्ख्यामा आउने हात्तीले गाउँघरमा दिनहुँ क्षति पु-याउने गरेका छन्,” उहाँले भन्नुभयो, “बथानमा आउने हात्ती भने खेतबारी र जङ्गलमा पस्ने गरेकाले जनजीवनलाई त्रसित बनाउने गरेको छ ।”

२०३० सालदेखि निरन्तर छिमेकी मुलुक भारतबाट आउने हात्तीको समस्या झेल्दै आइरहेको बाहुनडाँगीमा हालसम्म मानव–हात्ती द्वन्द्व निरन्तर चलिरहेको छ । हात्ती नियन्त्रणका लागि सरकारले विद्युतीय घेराबारा र विभिन्न उपाय अपनाए पनि अहिलेसम्म हात्ती नेपालतर्फ प्रवेश गर्ने कार्य रोकिन सकेको छैन ।