• ७ वैशाख २०८१, शुक्रबार

चट्याङबाट कसरी सुरक्षित रहने ?

blog

पूर्वमनसुनको समयमा पर्ने चट्याङका कारण नेपालमा मात्रै सन् २०२१ को मे महिनादेखि २०२२ को मे महिनासम्म कुल ५२ जनाको निधन भयो । यही मे महिनामा मात्रै १३ जना र गत हप्ता मात्रै सात जनाको मृत्यु भएको तथ्याङ्क विपत् जोखिम न्यूनीकरण पोर्टलको अध्यावधिक तथ्याङ्कले देखाएको छ ।

पूर्वमनसुनको समय चट्याङका कारण धेरै क्षति हुने समय हो । हालमा पनि दैनिकजसो चट्याङका कारण भइरहेका क्षतिको विवरण बढ्दै गएकोे छ । विश्वमा हरेक वर्ष चट्याङका कारणले करिब २४ हजार मानिसको ज्यान जाने गरेको छ । भने यो तथ्याङ्क नेपालमा लगभग १०० जना रहेको छ ।

२०७४ सालमा ११५ जना चट्याङ लागेर मरेका थिए । पछिल्लो दस वर्षमा चाहिँ चट्याङले ८०० भन्दा बढी मानिसको ज्यान लिएको थियो । यस वर्ष पनि धेरै चट्याङको समाचार आएको छ । सुन्दा सामान्य लाग्ने यो मौसमीय विपत्तिका कारण जन र धनको क्षति हुने गरेको छ । जलवायु सम्बन्धित प्राकृतिक विपत्तिका विविध रूपहरूमध्येको एक रूप चट्याङ हो । 

चट्याङका कारण एकै पटक ठूलो सङ्ख्यामा मानिसको मृत्यु नहुने भएको हुनाले मात्र यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कमी हुने गरेको छ । सँगै यसबाट हुने क्षति जङ्गलनजिक, ग्रामीण क्षेत्रमा हुने र घटना भएको तत्काल त्यसको तथ्याङ्क र घटनाको विवरणसमेत नआउने हुनाले नियमित रूपमा पर्ने गरेका असरहरू पनि न्यून चर्चामा आउँछन् । 

हाम्रो देशका कतिपय ग्रामीण भेगमा चट्याङको क्षति सञ्चारमाध्यममा आइपुग्दा त बासी भइसकेका हुन्छन् । त्यसकारण पनि ती क्षतिलाई ठूलो रूपमा लिइँदैन अनि चट्याङजस्तो विपत्तिको रोकथाम, नियन्त्रण र बच्ने उपायबारे ग्रामीण भेगसम्म पुग्ने गरेर चर्चा पनि हुँदैन । चट्याङ पनि एक जलवायु सम्बन्धित प्राकृतिक जोखिम हो ।

चट्याङ एउटा शक्तिशाली विद्युतीय प्रवाहका कारण हुने जोखिम हो । यसमा प्रवाह हुने विद्युतीय शक्तिको तापक्रम सूर्यको सतहको तापक्रमभन्दा तीन गुणा बढी करिब ९०००० सेन्टिगे्रडसम्म हुने गर्दछ । यो अपार विद्युतीय शक्ति दुई वा दुईभन्दा बढी बादलको गर्जनका कारण उत्पन्न हुन्छ ।

दुई वा दुईभन्दा बढी बादलको ठोक्किने प्रक्रियाबाट गर्जनसँगै असीमित विद्युतीय प्रवाह वायुमण्डलमा हुने गर्दछ । यो बादल ठोक्किने प्रक्रिया एउटै बादलभित्र वा दुईवटा फरक–फरक बादलसँग र कहिलेकाहीँ बादल र जमिनसँग पनि हुने गर्दछन् । यसरी ठोक्किएर निस्किएको विद्युतीय प्रवाह वायुमण्डलमा मात्र सीमित रहेको अवस्थामा खतराजन्य नहुन सक्छ तर जब सो विद्युतीय प्रवाह पृथ्वीसम्म आइपुग्छ, तब मानवीय क्षतिसँगै अरू क्षति पनि हुन सक्छ । यसरी ठोक्किएर चट्याङ पर्ने बादललाई कुमुलोनिम्वस बादल भनिन्छ । यो वायुमण्डलमा ठोक्किन्छ र मानिसले देख्न मात्र सक्छ । बादल र जमिनको ठोक्काइबाट हुने चट्याङले मानवीय क्षति गर्ने गर्दछ ।

वार्षिक रूपमा चट्याङका कारण एक सयभन्दा बढीको मृत्यु हुने कुरा गृह मन्त्रालयको तथ्याङ्कले जनाउँछ । मृत्युबाहेकका क्षतिको यकिन विवरण नै छैन । तथापि यसको मूल्य चाहिँ धेरै नै हुन सक्छ । वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । चट्याङको वैज्ञानिक आधार चाहिँ विद्युतीय प्रवाह हो ।

जुन विद्युत् धनात्मक र ऋणात्मक चार्जयुक्त बादल ठोक्किने प्रक्रियाबाट हुन्छ । वायुमण्डलमा नियमित रूपमा हुने यस्तो विद्युतीय प्रवाह तब मात्र क्षतिको कारण बन्छ, जब यो जमिनसम्म आइपुग्छ । वायुमण्डलमा उत्सर्जित भएको विद्युतीय प्रवाह जमिन वा बस्तीसम्म आएपछि त्यसको कारणले नै क्षति पु-याउँँछ । सामान्यतः वायुमण्डलमा बादलको उचाइ केही मिटरदेखि दस किलोमिटरसम्म हुने गर्दछ । 

यदि मानवीय माध्यम जस्तो– घर, भवन, विद्युतीय पोल तथा अन्य टावरहरू साथै अग्ला रुखहरू पनि वायुमण्डलमा हुने विद्युतीय प्रवाहलाई जमिनसम्म ल्याइपु-याउने माध्यम बन्न सक्छ । भवन, रुख, टावर वा विद्युतीय पोलहरूनजिकै मानवीय बस्ती छ भने त्यस्तो प्रवाहले मानिसको ज्यान लिने तथा अरू मानवीय सुख, सुविधालाई असर गर्ने गर्दछ । यसबाहेक कतिपय आकाशमा उडिरहेका जहाजहरू पनि चट्याङका कारण दुर्घटनामा परेका तथ्यहरू अगाडि आएका छन् । कहिलेकाहीँ विद्युतीय ट्रान्सफर्मर र दूरसञ्चार टावरमा चट्याङ पर्दा सो टावर र टावरसँग जोडिएका व्यक्तिगत विद्युतीय सामग्रीमा पनि क्षति पु-याएको हुन्छ ।

चट्याङको यथार्थ पूर्वभविष्यवाणी प्रणाली अहिलेसम्म विकसित भएको छैन । तथापि अति सूक्ष्म समयको लागि भविष्यवाणी गर्ने सेन्सरहरू पनि बजारमा पाइने गरेका छन् । चट्याङपश्चात् कहाँ यसले क्षति पु-यायो भनेर मापन गर्ने संवेदकहरूको चाहिँ उपलब्धता हुन्छ । जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट चट्याङलाई मापन गर्नका लागि मुलुकका नौ स्थानमा त्यस्ता सेन्सर जडान गरी अनुगमन सुरु गरेको छ । 

विश्व बैङ्कको सहयोगमा विभागले तुम्लिङटार, विराटनगर, सिमरा, भैरहवा, काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा त्यस्ता सेन्सर राखेको छ । यो सेन्सरले नेपालभरिको चट्याङसम्बन्धी तथ्याङ्क अनुगमन गर्ने गर्दछ । यी मापक केन्द्रबाट चौबीसै घण्टा चट्याङको मापन भइरहेको हुन्छ । यसले चट्याङको अनुगमन गरी यथेष्ट सचेतना अपनाउन सजिलो हुने देखिन्छ । यथार्थमा चट्याङको पूर्वभविष्यवाणीको वैज्ञानिक प्रक्रिया नभएको हुनाले सामुदायिक सचेतना नै चट्याङबाट बच्ने उपाय हुन् ।

व्यवस्थित बस्ती प्रणाली, अग्ला भवन, पोल, टावर निर्माण गर्दा विद्युतीय वा पारमाणविक सुरक्षाको प्रबन्ध गर्नु नै चट्याङबाट बच्ने उपाय हो । वैज्ञानिक रूपमा चट्याङबाट बच्नका लागि अर्थिङ प्रणालीको स्थापना गर्नुपर्दछ । यसका लागि भवन वा टावर वा पोलको माथिल्लो भागबाट सुचालकको प्रयोग गरी धनात्मक र ऋणात्मक चार्जयुक्त विद्युतीय प्रवाहलाई जमिनमा पु-याई विसर्जन गराइन्छ । अर्थिङ प्रणालीका लागि सुचालक तार र जमिनमा विसर्जन गर्न खोजिएको विद्युतीय प्रवाहलाई तटस्थ बनाउने केही सुचालक र वरिपरि सुचालक ठोस वस्तुको व्यवस्थित प्रणाली विकास गरिएको हुन्छ । यसले वायुमण्डलमा भएको अधिक विद्युत् प्रवाहलाई विसर्जन गर्दछ । 

यसका साथसाथै अग्ला भवन निर्माण चट्याङको खतराबाट पनि मुक्त छैन । पोल, टावर र अग्ला भवन निर्माण गर्दा अर्थिङ प्रणाली अत्यावश्यक पर्दछ । ग्रामीण भेगमा अग्ला रुखहरूनजिक बासस्थान नबनाउने, घर निर्माण नगर्ने र नबस्ने केही पूर्वसावधानी हुन् । बिजुली चम्किने र चट्याङ पर्ने समयमा जङ्गलमा वा अग्लो रुख भएको स्थानमा नजाने र त्यहाँको यात्रा नगर्ने नै हो । सँगसँगै जङ्गल, वन क्षेत्रनजिकको क्षेत्रमा घर, बस्ती निर्माण नगर्नु नै श्रेयष्कर हुने गर्दछ । पानी परेको अवस्था तथा चट्याङ पर्ने समयमा धातुका पोल र धातुजन्य वस्तु, विद्युतीय सञ्चालन भएका उपकरण र अरू इलेक्ट्रोनिक्स समानको प्रयोग नगरिकन बस्ने तथा त्यस्ता सामग्रीबाट टाढा रहने गर्नुपर्दछ ।

मूलतः चट्याङ पर्ने समयमा अग्ला तथा धातुका सामग्रीभन्दा टाढा रहनुपर्ने हुन्छ । कहिलेकाहीँ चट्याङका कारणले ठूलाठूला प्राकृतिक आगलागीका कारण पनि बनेको हुन्छ । यस्तो आगलागीले ठूलो धनजनको क्षति हुने गर्दछ । चट्याङबाट बच्न केही सावधानी अपनाउन सकिन्छ । जस्तो– जब आँधीबेहरीजन्य खतरा वा चट्याङको खतरा देखियो भने सबैभन्दा पहिले घरभित्र जानुपर्दछ भने घरभित्र रहँदा टेलिफोन वा मोबाइल प्रयोग गर्नु हुँदैन । यसका साथै प्राकृतिक प्रकाशको डन्डामुनि जस्तै– रुखमुनि बस्नु हुँदैन भने खुला पानीबाट टाढा रहनुपर्छ । धातुजन्य वस्तु वा उपकरणबाट टाढा रहनुपर्दछ भने मोटरसाइकल, स्कुटर, गोल्फ कार्ट र साइकलबाट टाढा बस्ने गर्नुपर्दछ । 

यसैगरी बिजुलीको तार, टेलिफोनको तार वा अन्य धातु पाइप, रेल र अन्य धातु मार्गबाट टाढा रहनुपर्दछ भने खुला क्षेत्रमा साना छुट्टै संरचनामा बस्ने कोसिस गर्नुपर्दछ । साथै वनमा, साना रुखहरू वा झाडीमा रहँदा बरु सुरक्षित रहन सकिन्छ । तल्लो क्षेत्र जस्तै– खोला वा उपत्यकामा रहँदा बस्दा अन्य स्थानभन्दा सुरक्षित हुन सकिन्छ । अत्यधिक चट्याङ पर्ने स्थानको पहिचान गरी सो क्षेत्रमा पनि सुचालक पोल र अर्थिङ प्रणालीलाई स्थापना गरेको खण्डमा पनि यसको सम्भावित क्षतिबाट बँच्न सकिन्छ । व्यक्तिगत, स्थानीय, सामुदायिकसँगै राष्ट्रियस्तरमा पनि चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पहल हुनु जरुरी छ । 

Author

नवराज पोखरेल