• ६ चैत २०८०, मङ्गलबार

प्रतिनिधिसभा बैठकमा राजेन्द्र महतोको प्रश्न- नेपालको विकास सधैं कछुवा गतिमा किन ?

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै राजेन्द्र महतो । तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ १३ गते। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्नेक्रम जारी छ। 

सांसद राजेन्द्र महतोले सरकारले हरेक वर्ष ल्याउने र छलफल गर्ने नीति तथा कार्यक्रममाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले २०१३ सालदेखि पञ्च वर्षीय कार्यक्रम, २००७ सालदेखि वार्षिक बजेटेको अभ्यास देशमा भए पनि देशले विकासमा छलाङ मार्न नसकेको बताउनुभयो। 

“यो ७० वर्षको अभ्यास के छ ? ७० वर्ष पहिले र आजको अवस्थामा देशमा के परिवर्तन आयो ? त्यसमा पो समीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आज हामीसँगै हिँडेको दुनियाँ कहाँ छ ? नेपाल कहाँ पुग्यो ? यसको माध्यमबाट नेपालले के फड्को मार्यो।”

सधैं कर्मकाण्डी नीति, कार्यक्रम आउने, घण्टौं छलफल गर्ने तर यसको प्रतिफल कहिल्यै प्राप्त हुन नसकेको उहाँले बताउनुभएको छ। पञ्चायतकालपछि बहुदलीय र गणतन्त्रको व्यवस्थासम्म विभिन्न सरकारले नेतृत्व गरेको तर, एउटा नेपालले अझै पनि एउटा सियोसमेत उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो। 

यसले समग्रमा, राजनीतिक दल र लोकतन्त्रलाई नै कमजोर पारेको उहाँको भनाइ छ।