• ८ वैशाख २०८१, शनिबार

बर्खामा पनि सडक सञ्चालनको पहल

blog

मदन भण्डारी राजमार्गअन्तर्गत साँघु–गुफा खण्डको अनुगमन गरिँदै । तस्विरः चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १३ गते । ताप्लेजुङको मैवाखोला हुँदै संखुवासभा, तेह्रथुमको बसन्तपुर जोड्ने सडक मदन भण्डारी राजमार्गलाई हिउँद–बर्खै सञ्चालन गर्नेगरी पहल सुरु गरिएको छ । हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई बर्खामा पनि सञ्चालन गर्न पहल सुरु गरिएको हो । 

ताप्लेजुङको दोभान–साँघु हुँदै संखुवासभाको गुफा, तेह्रथुमको बसन्तपुरसम्म मदन भण्डारी राजमार्गको ट्रयाक निर्माण भई हाल सडक कच्ची अवस्थामा रहेको छ । हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई मैवाखोला गाउँपालिकाले वर्षादको समयमासमेत आवश्यक मर्मत–सम्भारको कार्य गरेर सञ्चालनको तयारी गरेको हो ।

मैवाखोला गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीले सडकको तत्कालीन अवस्थाबारे अनुगमन तथा निरीक्षण गरेको छ । मदन भण्डारी राजमार्गको करिव दुई किलोमिटर दूरीभित्र भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरेमा यातायात सञ्चालन गर्न सकिने देखिएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । 

गाउँपालिकाका प्राविधिकसहित राजमार्गको अनुगमन गरी सडक सञ्चालनमा ल्याउनलाई पहल सुरु गरेको अध्यक्ष वनेमले बताउनुभयो । सडक मर्मत सम्भार गरी यातायात सञ्चालनमा ल्याउनका लागि तत्काल गर्नुपर्ने काम, मर्मत खर्च लगायतका विषयमा गाउँपालिकाका इन्जिनियर, प्राविधिक अन्य पदाधिकारीसँग एकचरण छलफलसमेत चलाएको उहाँले जानकारी दिनुभयो ।

यस्तै ताप्लेजुङस्थित उत्तर–दक्षिण (मुलघाट–दोभान–ओलाङ्चुङगोला खण्ड) सडक योजनाका प्रमुखसँग पनि परामर्श गरेको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । उहाँले मैवाखोलासहित आठराई त्रिबेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका लगायत क्षेत्रका जनताको सुविधालाई दृष्टिगत गरी उक्त सडक सञ्चालनको पहल सुरु गरेको बताउनुभयो । 

हिउँद मौसममा यातायात सुविधा लिनुपर्ने अवस्थाको अन्त्य गर्न र यस क्षेत्रका यात्रु तथा जनतालाई हिउँद–बर्खै (बाह्रै महिना) प्रत्यक्ष यातायात सुविधा कसरी दिलाउन सकिन्छ भन्ने विषयमा आफू निर्वाचित हुनु अघिदेखि नै सोच राख्दै आएको अध्यक्ष वनेमको भनाइ छ । तत्कालका लागि मर्मत सम्भार गरेर बर्षादको समयमा पनि सडक सञ्चालनमा ल्याउने र प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरेर चाँडै ग्राभेल हुँदै कालोपत्रेका लागि प्राथमिकताका साथ आफूले पहल गर्नेसमेत उहाँले बताउनुभयो । 

मदन भण्डारी राजमार्ग नियमित सञ्चालन भएमा मैवाखोलासहित यसक्षेत्रका चारवटा स्थानीय तह र सदरमुकाम फुङ्लिङबाट समेत प्रदेश १ को राजधानी विराटनगर, इटहरी, धरान लगायत तराईका जिल्ला आउजाउ गर्नलाई धेरै सहज हुने छ । यस राजमार्गमा हिउँद मौसममा मात्र बस, जिप लगायतका यात्रुबाहक तथा अन्य यातायातका साधन चल्ने गरेका छन् । बर्खा मौसम सुरु भएपछि सबै यातायात सेवा ठप्प हुने गरेको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।