• ६ चैत २०८०, मङ्गलबार

तिलोत्तमाको प्रमुखमा कांग्रेसका विजयी

blog

रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा निर्वाचित रामकृष्ण खाण र उपप्रमुख जगेश्वरीदेवी चौधरी । तस्विरः कपिल ज्ञवाली

सिद्धार्थनगर,जेठ १३  गते । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण बिजयी हुनुभएको छ । उहाँले ७६५ मतान्तरले नेकपा (एमाले)का उम्मेदवार मोहन चापागाईलाई पराजित गर्नुभयो । 

खाणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाईले २३ हजार ६३१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार ८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभयो ।

तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जितेको छ । यहाँ १७ वटा वडा रहेका छन् । मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान ४ बजेमात्रै आएको हो ।

तिलोत्तमाको वडा नं. १ को वडा अध्यक्षमा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका डिलबहादुर भट्टराई, ३ मा कांग्रेसका कल्याणप्रसाद पौडेल, ४ मा एमालेका हरिबहादुर क्षेत्री, ५ मा कांग्रेसका रमेश डुम्रे, ६ मा कांग्रेसका गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेकै कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।

त्यस्तै वडा नं. ९ को अध्यक्षमा कांग्रेसका ध्रुव न्यौपाने, १० मा एमालेकै गोपालप्रसाद घिमिरे, ११ मा एमालेकै विष्णुबहादुर बराल, १२ मा एमालेका सहदेव थारु, १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसका आश्विन पौडेल, वडा नं. १५ को अध्यक्षमा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुसाल, र वडा नं. १७ को अध्यक्षमा कांग्रेसका दानबहादुर चौधरी निर्वाचित हुनुभएको हो ।

मतगणनामा बसेका गणकले गलत काम गरेका कारण यहाँ दुई दिन मतगणना रोकिएको थियो । यो परिणामसंगै रुपन्देहीका १६ वटै पालिकामा मतगणना सकिएको छ । १० वटा स्थानीय तहमा काँग्रेस र  ३ वटाको प्रमुख एमालेले जितेको छ । जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजावादी पार्टी र जनता प्रगतिशित पार्टीले एक–एक पालिकाको प्रमुख जितेका छन् । 

रुपन्देहीको तिलोत्तमामा ८५ हजार मतदातामध्ये ६४ हजार ७२८ मत खसेको थियो । यहाँ २०७४ को निर्वाचनमा दुबै पदमा एमालले जितेको थियो । तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । 

Author

कपिल ज्ञवाली