• १३ वैशाख २०८१, बिहिबार

अब चार पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी

blog

काठमाडौं, जेठ १२ गते । ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब चार वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।

जसअन्तर्गत नेपाली कांग्रेसले ३२७ पालिका जितेको छ । नेकपा एमालेले २०५ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।

बिहीबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३९ पालिकामा प्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ । यस्तै, नेकपा एमालेले ८२ पालिकामा प्रमुख पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । 

नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जित्दा एकमा अग्रता कायम गरेको छ । अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन् भने एक पालिकामा अग्रता छ। ४६० गाउँपालिकातर्फ सबै पालिकाको मतपरिणाम आएको छ । 

जसमध्ये कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले २१  र अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेको छ । कांगेसले ११० पालिकामा उपप्रमुख पद जितेको छ भने अग्रता लिएको छैन । यस्तै, एमालेले १११ पालिकामा उपप्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता छ । जनता समाजवादीले १२ पालिकामा उपप्रमुख पद जितको छ । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् । यस्तै, कांग्रेसले १९०, एमालेले १२६, माओवादी केन्द्रले ९५, जनता समाजवादी पार्टीले १९ र अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।

सार्वजनिक हुन बाँकी पालिका

स्थानीय तह सदस्य निर्वाचन  अन्तर्गत अब चार वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७५३ मध्ये ७४९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बूढीगङ्गा नगरपालिकाको अन्तिम नतिजा आउन बाँकी छ ।

मतपरिणाम आउन बाँकीमध्ये बाजुराको बूढीगङ्गा  नगरपालिकाको मतगणना नै सुरु हुनसकेको छैन । अन्यको मतगणना अन्तिम चरणमा पुगेको छ ।